मनसुनको सुरुवातमै गण्डकी प्रदेशले प्राकृतिक विपद्को सामना गर्नुपर्‍यो । असारको पहिलो साताको बाढीपहिरोले धेरैतिर बस्ती नै बगायो भने नागरिकको उठिबास लगायो । बाढीपहिरोको चपेटामा परेका नागरिक अहिले पनि घर फर्किन सकेका छैनन् । यो पटकको मनसुनले नागरिकको उठिबास त लगायो नै भौतिक सम्पत्तिमा पनि उत्तिकै धक्का दियो ।

बाढीपहिरोले घरगोठ भत्काउने र बगाउनेदेखि सडक र पुलपुलेसामा क्षति गरेको छ । गण्डकी प्रदेशमा मात्र बाढीपहिरोले दर्जनौ पुल बगेका छन । मोटर गुड्ने सहित झोलुंगे र पक्कि पुल तथा अस्थायी प्रकृतिका काठेपुल बाढीमा बग्दा जिल्लामा एकअर्का गाउँबीचको आउजाउको सम्पर्क टुटेको छ । त्यसले नागरिकमाथि सास्ती थपेको छ ।  

सबैभन्दा बढी सास्ती हिमाली जिल्ला मनाङले खेपेको छ । जहाँ १० वटा झोलुंगे र दुईवटा पक्कि पुल बगेका छन् । सदरमुकाम चामे र तिमाङको पक्कि पुल बगेका छन् । त्यस्तै आठवटा काठेपुल पनि बगेका छन । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्छन, ‘दुई गाउँबीचको आउजाउ नै नहुने गरि झोलुंगे, काठे र पक्कि पुल बगेका छन । यसले लामो समयसम्म आउजाउलाई अप्ठेरो पार्ने पक्का छ ।’ 

पूर्वाधार विकास कार्यालय मनाङका इन्जिनियर प्रल्हाद दाहालका अनुसार बाढी आउनु अघि अस्थायी प्रकृतिका काठेपुलले हिँडडुलमा निकै नै सहज पुर्‍याएका थिए । आठ–दशमिटर सम्मका लामो दूरीका ती काठेपुल प्रायजसो साँघुरा खोल्सी वारपार गर्नेगरि बनेका थिए । मोटर समेत तिनै काठेपुलबाट ओहोरदोहोर गर्थे । तर बाढीले यतिधेरै क्षति पुर्‍याएको छ की पहिले ८–१०मिटर लामा दूरीका काठेपुल अहिले बग्दा ठूलो आकारको भड्खालो बनेका छन । अब ती भड्खालोमा काठेपुल बनाउन मिल्दैन । पक्कि पुलको विकल्प नै नभएको दाहालले बताए ।  

यतिसम्मकी सदरमुकाम चामे नजिकैको ट्रस पुलले मर्स्याङदीको बहाव नै रोकेको छ । खोला छेक्न ड्यामकै काम गरेको यो पुल पछि सहज भएपछि पनि आउजाउ गर्न मिल्ने वा नमिल्ने भन्न सकिने अवस्था नरहेको उनको भनाई छ । ‘कल्भर्ट र काठेपुल भएको ठाउँमा खहरेले बगाउँदा ठुलो र फराकिलो गरि क्षति गरेको छ । त्यसले गर्दा अब त्यहाँ कल्भर्ट र काठेपुलको भरमा हिँड्डुल गर्न मिल्दैन,’ उनले भने, ‘अब त धेरै ठाउँका पक्कि पुल नै बनाउनुपर्छ । कतिपय ठाउँका ब्लास्टिङ नगरी पुलपुलेसा बनाउन पनि मिल्दैन ।’ उनले पनि गाउँगाउँबीच आउजाउ रोकिने गरि पुल बग्दा सम्पर्क नै बिच्छेद भएको बताए ।  

मनाङ प्रवेशद्वार लम्जुङमा पनि पुल बग्दा आउजाउ नै प्रभावित भएको छ । लम्जुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार पाँचवटा झोलुंगे पुल जोखिममा परेका छन् । त्यसमध्ये हिलेटक्सारको झोलुंगेपुल त हिँडडुल गर्न नसकिने अवस्थामा छ । अरु पुल खोलामै नबगेपनि वारपार गर्न जोखिमपूर्ण रहेको उनले बताए । त्यस्तै दुईवटा पक्कि पुलको आउजाउ पनि प्रभावित भएको छ । मर्स्याङदी माथिको मोटरेवल पुल पनि धरापमा छ । त्यस्तै भूलभूलेको मोटरेवल पुलको आवतजावत पनि रोकिएको छ ।  

तनहुँमा पनि पक्कि पुल बाढीमा बग्दा ओहोरदोहोर नै बन्द भएको छ । बुद्धसिंह मार्गको ब्यास नगरपालिका– १ र १३ वडा जोड्ने हाईस्कुलटार र पारिपट्टिको बेलबास जोड्ने पुल बाढीमा बगेको हो । पुल भत्किँदा पोखरीभञ्ज्याङ, केशवटार, वेलवास, कोइदिम, सारङघाट, खहरे, बैदी, छिपछिपेसम्मको आउजाउ प्रभावित भएको छ । यो पुल पार गरेपछि नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउने घाटमा पुग्निछ । पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा पनि यसलाई लिइन्थ्यो ।

झन्डै दुइदशक अघि बनेको यो पुल बग्दा स्थानीयलाई सदरमुकाम दमौली आउजाउ नै सकसपूर्ण बनेको स्थानीले बताएका छन् । ‘यही पुल ओहोरदोहोर गराएर धेरै किसानले सदरमुकाम दमौलीमा दूध बेच्ने गर्दथे । अहिले आउजाउ प्रभावित हुँदा दूध बेच्न जान पनि सकस भएको छ,’ बेलवासका स्थानीय राजन सापकोटाले भने, ‘आउजाउ नै सकसपूर्ण बनेपछि दूध बेच्न कहिले जाने र कहिले नजाने अवस्था छ ।’ उनले दिनमा झन्डै ८० लिटर दूध बेच्दै आएका थिए । त्यही पुल पार गराएर आउजाउ गर्ने किसानले दिनमा झन्डै आठसय लिटर दूध बिक्रीका लागि ल्याउने गर्दथे । अहिले त्यो दूध बेच्न अप्ठेरो परेको सापकोटाले बताए ।  

‘बासको सामान्य फड्के बनाएर आउजाउ गरेका छौ । निकै नै धरापयुक्त आउजाउ बनेको छ,’ उनले भने, ‘पुल नबन्दासम्म आउजाउ सहज छैन । छाब्दीखोलाको यो पुल बग्दा बिरामीलाई उपचारका लागि सदरमुकाम दमौली आउजाउमा पनि सकसपूर्ण बनेको उनले बताए ।  तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पुल बग्दा आउजाउमा सकसपूर्ण अवस्था आएको बताए । ‘झट्ट हेर्दा तनहुँमा एउटा पक्कि र अर्काे झोलुंगे पुलमा मात्र क्षति भएको हो । तर, सातातिना कल्भर्ट त धेरै नै बगेका छन,’ बरालले भने, ‘गाउँगाउँमा अहिले आउजाउ रोकिएको छ । मोटर चल्ने अवस्था छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय