हरेक परिवारका कम्तीमा एकजनामा कोरोना सङ्क्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले हरेक परिवारका कम्तिमा एकजनामा कोरोना सङ्क्रमणको परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले कोरोना रोकथामका लागि परीक्षणको दायरा विस्तार गरी हरेक परिवारसम्म पुग्न निर्देशन दिएको हो । कोभिड–१९ को परीक्षणको दायरा विस्तार गरी हरेक परिवारबाट कम्तिमा एकजनाको नमूना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न समितिको निर्देशन छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल उपस्थितमा भएको बैठकमा समितिले सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसारको स्वास्थ्य सामग्री पुर्याउन, राहत वितरणलाई व्यवस्थित गर्न र स्वास्थ्यसम्बन्धी एकीकृत कानुन बनाउन निर्देशनसमेत दिएको छ । सीमा क्षेत्रमा रहेका नागरिकको उचित व्यवस्थापन गर्न, दैनिक ज्यालादारी मजदुरलाई राहत वितरणको मापदण्ड बनाउन, कोरोना रोकथाम तथा उपचारमा निजी अस्पतालको उपयोग गर्न र विदेशबाट फर्किनेलाई रोजगारीको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *