राष्ट्रिय समाचार

सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ ।

सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।

यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ ।

प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पु¥याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ ।

सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पाेरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महीना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो ।

टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ ।

गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो ।

के हो फोरजी सेवा

फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ ।

फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ ।

कसरी गर्ने ‘एक्टिभेट’

टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।

थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् । (साभार-ताजा समाचार)

११ आश्विन २०७६,
चितवन ।
चितवनको भरतपुरमा हुने ज्ञानेन्द्र शाहीको कार्यक्रम बिथोलिएको छ । साथै उनि माथि निर्घात कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले चितवन मेडिकल कलेजमा टाउकको सिटी स्क्यान गरेर उपचार भईरहेको उपचारमा सहभागि चिकित्सकले जानकारी दिए । स्थानीय युवाहरुले चितवनलाई राजनैतिक अखडा बनाउन खोजिएको भन्दै उनको बिरोध गर्दै स्टेज भत्काए र ब्यानर च्यातिदिए । उनलाई कुट्ने व्यक्ति पत्ता नलागेपनि कुटेको आशंकामा केहि व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनि कुटिए लगत्तै प्रहरीले उद्दार गरि अस्पताल पठाएको छ । स्थिति थप जटिल नहोस भन्नका लागि प्रहरी परिचालन गरिएको छ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै देशको विभिन्न स्थानमा कार्यक्रम गर्ने क्रममा शाही चितवन आएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले कार्यक्रम गर्न नदिने भने पछि तनाब सिर्जना भएको थियो । चौबिसकोठी स्थित होटल ग्लोबल बाट निस्किएर कार्यक्रमका लागि निस्कने क्रममा उनीमाथि कुटपिट भएको हो साथै उनि चढेको माइक्रोबसमा तोडफोड भएको छ ।

 

१० आश्विन २०७६,
रत्ननगर ।
दशैँ तिहार नजिकिए संगै गित संगीतका माध्यमबाट पनि दशैको गित निस्कने क्रम जारी छ ।
यहि अवसर पारेर चितवनकी गायिका सुस्मा पराजुलीले दशैँ तिहार सम्बन्धि गित दशैँ आयो तिहारै आयो सार्बजनिक गरेकी छिन । दशैमा आफ्नो परिवार बाट टाढा रहेकी श्रीमती र शारीरिक अपाङ्गताले नेपालमा नै रहेका श्रीमानको कथा बेथालाई गीतले बोलेको छ । रत्ननगरको मोहना आसपासमा भिडियो छायांकन भएको गीतको भिडियोलाई चितवनकै अनुभवी निर्देशक सुरेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने मदन अछामी र यमन मगरको छायांकन रहेको छ । गीतलाई रामु आचार्यले सम्पादन गरेका हुन् । सुस्मा पराजुली, दिपक क्षेत्री, टिकाराम लामिछाने, नवलकिशोर गुप्ता लगाएतको अभिनय रहेको गीतमा बाल कलाकार शिरिशा गौतम र दिप्सन गौतमको भूमिका देख्न सकिन्छ । सुस्मा पराजुली र दिपक क्षेत्रीको आवाज रहेको गीतमा आर्यमिक तिवारी बाल गाएकको रुपमा उदाएका छन् । गीतको एरेन्ज किशोर तिवारीले गरेका हुन् ।

९ आश्विन २०७६,
काठमाडौँ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का २७ औँ स्थानमा छन् ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।

कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् ।

आईसीसीको टोलीमा टी ट्वान्टी वरियतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वारियतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।

८ आश्विन २०७६,
रत्ननगर ।
महेश पाण्डे
चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

बेल्सीमा रहेको कर्वडहल निर्माण स्थलमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न मैदान व्यवस्थापन,प्रचारप्रसार र टिमदर्ताको काम अन्तिम चरणमा पुगेको क्लवका सचिव राजु भट्टराईले जानकारी दिए । पूर्वी चितवन स्पोट्र्स क्लव रत्ननगर ३ ले आयोजना गरेको सो प्रतियोगितामा ३० देखि ५० जिल्ला करिब १०० वटा टिमको सहभागिता रहने छ । तीन दिन सम्म चल्ने सो प्रतियोगितामा ओपन डबल र भेट्रान डवलका खेलहरु हुने छ । रत्ननगरको खेलकुलको विकास र वडा नं ३ मा प्रस्तावित कवर्डहल निर्माणको लागि दवाब सृजना गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पुरु खनालले जानकारी दिए ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ६१ हजार र दोश्रो हुनेलाई ३१ हजार तथा भेट्रान तर्फ प्रथम हुनेलाई २५ हजार र दोश्रो हुनेलाई १५ हजार पुरस्कार,शिल्ड तथा मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक विकास डल्लाकोटीले जानकारी दिए ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क खुल्ला तर्फ ४ हजार र भेट्रन तर्फ २५ सय रुपैया कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट तथा सान्त्वना हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा भएको आम्दानी मध्यबाट २० प्रतिशत बजेट अनाथ वालवालिकाको शिक्षका लागि सहयोग गर्ने योजना रहेको क्लवका अध्यक्ष केवल न्यौपानेले बताए । प्रतियोगितामा आयसर ट्याक्टरको आधिकारीक विक्रेता न्यू एसडी अटो ट्रेडिङ ज्यामिरेले प्रयोजन गरेको छ ।

 

६ आश्विन २०७६,

निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा प्लेन चढाउने भएको छ । यो १२ असोज २०७६ बाट लागु हुने छ । प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको छ ।

६ आश्विन २०७६,
काठमाडौं ।

प्रहरीले नक्कली धितो लिएको अभियोगमा ११ जनालाई पक्राउ गरेको छ । त्यसमा बैंक अफ काठमान्डुका तत्कालीन सीईओ अजय श्रेष्ठलगायत छन् । उनीहरूलाई विभिन्न समयमा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

सीआईबीका अनुसार खोलाको जग्गा राखेर ५ करोड ऋण स्वीकृत गरेको अनुसन्धानमा देखिएको छ । ५ करोड रुपैयाँ रकम स्वीकृत भएको थियो । पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारी सुषमा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी छन् । बाँकी ऋणी रहेको सीआईबीले जनाएको छ ।

४ आश्विन २०७६,
काठमाडौं ।

आज देखि लागु हुने गरेर दशैका लागि अग्रिम टिकट खुल्ला गरिएको छ। यात्रुको चाप तथा मागलाई ध्यानमा राखेर दशैंका लागि आजदेखि टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभाग महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। हरेक बर्ष चाडबाडका बेला काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ। त्यस्तै यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ। सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् । चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिए। दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिए। सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन्।

४ आश्विन २०७६,
काठमाडौँ ।

दशैमा नेपाल टेलिकमका ग्राहकका लागी फोरजी सेवा ल्याउने तयारी भैरहेको नेपाल टेलिकमले जनाएको छ । देशका २० देखि २५ वटा शहरमा सेवा सुरु गर्ने तयारी भएको हो । देशका विभिन्न स्थानमा फोरजीको परिक्षण सुरु भैसकेको छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ । यस अघि नै एन्सेलले फोरजी सेवा सुरु गरि प्रभावकारी समेत भैसकेको छ । फोरजी प्रविधिमा उच्च गतिको इन्टरनेटको सेवा प्राप्त हुने हुदा ग्राहक बर्गमा यसको आकर्षण बढ्दो छ । देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ ।
टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।
नेपाल टेलिकमले यस अघिनै मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो ।

४ आश्विन २०७६,
गोरखा ।
आज बिहान ६ बजेर १९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रविन्दू भएर भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरीएको थियो ।

RANDOM POSTS

0 20
सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै...