मितिः २०८१, ५ असार मंगलवार

नारायणी नदीको ‘सिग्नेचर पुल’ निर्माणमा व्यवसायी अनिच्छुक देखिएपछि फेरी गरीयो ठेक्का आह्वान

नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि दोस्रोपटक सूचना प्रकाशन गरिएको छ । यसअघि कात्तिक २ गते आह्वान भएको ठेक्कामा कुनै पनि निर्माण कम्पनीले आवेदन नदिएपछि दोस्रोपटक ठेक्का आह्वान गरिएको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ । पुल महाशाखाले मंसिर २० पुनः आह्वान गरेको ठेक्काको म्याद १५ दिन अर्थात पुस ६ गते दिउँसो १२ बजेसम्म छ । हाल भइरहेको पुल यथावत राखी दुई लेनको नयाँ पुल निर्माण हुने पुल महाशाखाका सिनियिर डिभिजनल इन्जिनियर (सिडिई) राजकुमार अधिकारीले बताउनुभयो ।
महाशाखाका अनुसार नेपालमा पहिलोपटक बन्न लागेको सिग्नेचर ब्रिज निर्माणका लागि स्वदेशी कम्पनीले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ । तर, नेपाली इन्जिनियर तथा निर्माण व्यवसायीसँग सिग्नेचर ब्रिज निर्माणको अनुभव भने छैन । हाल सञ्चालनमा रहेको नारायणी नदीको पुलबाट माथिल्लो भागतिर नयाँ पुल निर्माण गर्ने योजना छ । पुल कहाँ बनाउने भन्ने विषय यकिन नभई ठेक्का आह्वान गरिएको महाशाखाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने नारायणी नदीको पुलमा दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्ने अनुमान छ । साथै, राजमार्गलाई ‘एसियन हाइवे’ का रूपमा विकास गरेर चार लेनमा स्तरोन्नति गर्ने योजना सरकारको छ । तत्काल दुई लेनको पुल बने पनि आवश्यकताअनुसार पछि फेरि दुई लेनको अर्को सिग्नेचर ब्रिज नै निर्माण गर्न सकिने बताइएको छ । २०३८ सालदेखि सञ्चालनमा रहेको वर्तमान नारायणी नदीको पुल जीर्ण बन्दै गएपछि नयाँ पुल निर्माण गर्न लागिएको हो।
पुल महाशाखाका अनुसार नयाँ बन्ने पुलको लम्बाई ४ सय २० मिटर हुनेछ। हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४ सय ६० मिटर लामो छ। हालसम्म महाशाखाले पुल निर्माणको लागत खुलाएको छैन। डिजाइन र निर्माणको काम सम्बन्धित कम्पनीले तयार गर्नुपर्ने भएकाले यकिन लागत अहिले नै भन्न नसकिने महाशाखाको भनाइ छ । तै पनि १ अर्ब रुपैयाँभन्दा बढी नारायणी पुल निर्माणमा खर्च हुने कर्मचारीको भनाइ छ। अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो । महाशाखाका अनुसार पुललाई पर्यटकमैत्री बनाउने सरकारको योजना छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.