मितिः २०८१, ५ असार मंगलवार

मुग्लिन–नारायणगढ सडकखण्ड ः यही वर्ष १३ पुलमा सवारी गुडाउने लक्ष्य

राजधानीलाई देशको पूर्व र पश्चिमसँग जोड्ने लाइफलाइन (जीवनरेखा) मानिएको मुग्लिन–नारायणगढ सडकको स्तारोन्नति भएसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ ।
दुई प्याकेजमा पुल निर्माणको काम भइरहेको तत्कालीन नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । हाल कुल १५ वटा पुल निर्माणको चरणमा छन् । कतिपय पुल निर्माण सम्पन्न भइसकेका छन् भने कतिपयमा काम नै सुरू हुन सकेको छैन । मुग्लिनदेखि रिग्दीखोलासम्मको सातवटा पुललाई प्याकेज १ मा र रिग्दीखोलादेखि नारायणगढतर्फका बाँकी आठवटा पुललाई प्याकेज २ मा राखेर काम गरिरहेको छ ।
दुई प्याकेजमध्ये प्याकेज एकभन्दा दुईमा बढी काम भएको छ । भूगोलका कारण पनि प्याकेज एकको तुलनामा दुईमा काम गर्न केही सहज भएको आयोजना कार्यालयका योजना प्रमुख किरण कार्कीले बताउनुभएको छ । प्याकेज दुईमा समग्रमा करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने प्याकेज १ मा करिब ५० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ ।
प्याकेज दुईको जुगेडी पुलमा केही समस्या भएपनि अहिले भने समाधान भएर पनि काम सुरू भइसकेको बताइएको छ । जुगेडीको काम पनि करिब ४५ प्रतिशतजति भइसकेको छ । अन्य सातवटा पुलको करिब ९० प्रतिशत काम भइसकेको छ । प्याकेज दुईको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्याकेज दुईको सातवटा पुलमा गाडी हिँड्न मिल्ने (एप्रोच) सडक बनिसकेको छ ।
तर, प्याकेज एकमा भने अप्ठ्यारो भूगोल र विभिन्न खालका सामाजिक समस्या छन् । उक्त प्याकेजमा पुल निर्माणका लागि भीर फुटाउनुपर्ने र बस्ती हटाउनुपर्ने समस्याले गर्दा काममा ढिलाइ भएको छ । यो क्षेत्रमा २६ घरधुरीलाई क्षतिपूर्ति (मुआब्जा) दिनुपर्ने देखिएको जनाइएको छ । समयमै बजेट व्यवस्थापन हुन नसक्दा पनि काममा ढिलाइ भएको हो । त्यसबाहेक डिजाइनमै पनि समस्या देखिएपछि पटकपटक छलफल गरेर बल्ल काम गर्न सुरू गरिएको थियो ।तैपनि छवटा पुलमा काम सुरू भइसकेको बताइएको छ ।
भौगोलिक कठिनाइका कारण मुग्लिनबाट नारायणगढतर्फ जाँदाको पहिलो पुल खहरे पुल निर्माणको काम अझै पनि सुरू भएको छैन । त्यसबाहेक चिसेञ्जी र तुइनमा पनि काम गर्न सहज छैन । ती पुलहरुमा कडा चट्टान काटेर काम गर्नुपर्ने भएकोले समस्या भएको योजना प्रमुख कार्कीले बताउनुभयो । चिसेञ्जीमा भने काम सुरू भइसकेको छ भने तुइनखोलाको पुलमा अझै पनि काम हुन सकेको छैन, जहाँ रक कटिङबाहेक कुनै उपाय छैन ।
कालीखोला र रिग्दीखोलालगायतका क्षेत्रमा भने युद्धस्तरमा काम भइरहेको छ । सबैभन्दा धेरै तोपेखोलाको पुलमा करिब ९० प्रतिशत काम सकिएको छ ।
१५ वटा पुलमध्ये अबको तीन महिनाभित्र पाँचवटा पुलमा सवारीसाधन नै चलाउन सकिने आयोजना कार्यालयले जनाएको छ । कम्तीमा चालू आर्थिक वर्षभित्रमा १३ वटा पुल सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ ।

बाँकी दुईवटा पुल भने अर्को आर्थिक वर्षमा निर्माण हुने बताइएको छ । पुल निर्माण गर्न ३३ महिनाका लागि २०७६ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुसको दोस्रो हप्ता म्याद सकिँदैछ । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण सम्झौता भएकै केही दिनपछि जारी भएको ‘लकडाउन’ले करिब एक वर्षजति काम गर्नै नपाएकोले समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ । डिजाइन गर्ने सुरूको छ महिना काम गर्नै नपाएको र त्यसपछि पनि विभिन्न समयमा भएको निषेधाज्ञाले गर्दा काममा बाधा परेको कार्यालयले जनाएको छ ।
चट्टान फोरेर काम गर्नुपर्ने भएकोले राति पनि काम गर्न नसकिने हुँदा समस्या परेको बताइएको छ । यसबीचमा दिउँसै केही दिन सवारी आवागमन नै बन्द गरेर काम गर्ने कि भनेर पनि सम्बन्धित क्षेत्रसँग छलफल भइरहेको जनाइएको छ । सकभर बन्द नगरीकनै काम गर्ने योजनामा कार्यालय छ । आयोजना कार्यालयका अनुसार प्याकेज १ मा ५९ करोड र प्याकेज २ मा ६७ करोड गरी एक अर्ब २६ करोडको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.