मितिः २०८१, १ असार शुक्रबार

प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोक्यो

भरतपुर महानगरपालिका वडा नं–२७, पर्साढापमा बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम भरतपुर विमानस्थलले रोकेको छ । मेघौली विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा नै नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना भवन बनाएकाले रोक लगाइएको हो ।
विमानस्थलको सिमानाबाट जम्मा सातसय मिटरनजिकै छ तले भवन बनाउने काम जारी रहेको र अहिले भने चार तला बनिसकेको बताईएको छ । मेघौली विमानस्थलको एप्रोच लाइननजिकै बन्दै गरेको प्राधिकरणको प्राविधिक टोली आएर यसको अवस्थाका बारेमा रिपोर्ट नदिइन्जेल भवनको काम रोकिएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिनुभयो । एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको बताइएको छ ।

उक्त भवन गैँडाकोटको अक्सफोर्ड कलेजका प्रमुख सञ्चालक हरि भण्डारीको समूहले बनाउँदै गरेको हो । मेघौलीका तीनवटा निजी विद्यालयहरु पारामाउन्ट, ब्राइट फ्युचर र अल्माइटीलाई मर्ज गराएर भण्डारीले प्रज्ञा एकेडेमी नाम दिएर विद्यालय सञ्चालन गरेका हुन् । झन्डै ४० करोड लगानीमा भवन बनाउन लागेको स्रोतको भनाइ छ ।
विसं २०५७ सालमा गैँडाकोट–२ मा स्थापना भएको गैँडाकोट अक्सफोर्ड कलेजले सफल नेतृत्वको साथमा चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यो कलेजमा बिसिए, विभिन्न विषयमा इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान, बिबिएलगायतका विषयमा पढाइ हुँदै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.