मितिः २०८१, ५ असार मंगलवार

चितवनबाट सरदर दैनिक ४० जना जान्छन वैदेशिक रोजगारीमा

चालू आर्थिक बर्षको साउन देखि असोज मसान्तसम्म चितवनबाट तीनहजार छ सय पच्पन्न जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृत लिएका छन । जसमध्ये श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सख्या छसय रहेको छ । जिल्लामा प्रतिदिन सरदर ४० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको एक तथ्यांकले देखाएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा न्यूनीकरण सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत उमा पौडेलले वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा सामाजिक लान्छनाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
उहाँका अनुसार नेपालमा वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएर आउनेको सख्या प्रतिदिन तीनजना रहेको छ । त्यस्तै एक हजार भन्दा बढी नेपाली युवाहरु दैनिक रुपमा वैदेशिक रोजगारीमा जाने गरेका छन । जसमध्ये ७४ प्रतिशत युवाहरु हचुवाको भरमा वैदेशिक रोजगारीमा जाने गरेको पनि बताइएको छ । आर्थिक बर्ष २०६४ देखि २०७८÷७९ सम्म वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या १० हजार नौसय ३२ रहेको छ भने आर्थिक बर्ष २०७८÷७९ मा चितवन जिल्लाबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको सख्या ३५ रहेको चितवनका कार्यक्रम सयोजक सुर्य पौडेलले जानकारी दिनुभयो ।

नेपालमा ५६ प्रतिशत भन्दा बढी घरधुरीमा बिप्रेषण अर्थात रेमिटान्स पुगेको देखिन्छ । आर्थिक बर्ष २०७७÷७८ मा नेपालमा १० खर्ब रुपैयाँ रेमिटान्स भित्रिएको छ ।
यसैगरी विश्व भरि साढे २८ करोड ब्यक्तिहरु वैदेशिक रोजगारीमा आबद्ध रहेका छन । बिज्ञहरुका अनुसार अर्थतन्त्रको ५७ प्रतिशत हिस्सा वैदेशिक रोजगारबाट आएको रेमिटान्सले ओगटेको छ ।
वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरु मध्ये ६० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले सन २०२२ को मे महिनामा सार्वजनिक गरेको सर्बेक्षणमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजारमध्ये ६० प्रतिशतमा मानसिक समस्या रहेको देखाएको छ । त्यसै गरि ५२ प्रतिशत श्रमिकको परिवार सँगको भेट दुईदेखि तीनबर्षको अन्तरालमा र ८ प्रतिशतको भेट १० बर्षको अन्तरालमा हुने देखिन्छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामका लागि विदेशिनु बाध्यता भएको बताउनुभयो । केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांश नेपालीका लागि यो बाध्यता बन्न पुगेको उहाँको भनाइ छ

सामी कार्यक्रम हाल चितवनको भरतपुर महानगरपालिकाको वडा १८,१९ २१ र २४ तथा माडी नगरपालिका,रत्ननगर नगरपालिका र इच्छाकामना गाउपालिकामा लगायतका चारवटा पालिकाहरुमा संचालित छ । नेपालका ३८ जिल्लाका एकसय ५६ स्थानीय तहमा यो कार्यक्रम सन्चालनमा रहेको छ । उक्त कार्यक्रमको अवधि २०८१ असार मसान्तसम्म रहेको छ । सुरक्षित आप्रवासन सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित छ भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयनमा आएको जनाईएका छ ।
डिसेम्बर १८ लाई बिश्वले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउदै आइरहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ ले कामदारले विदेशमा पाउने रोजगारीलाई वैदेशिक रोजगार भनी परिभाषित गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.