मितिः २०८१, १ असार शुक्रबार

चितवनमा तोरी उत्पादन बढ्ने

चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ । तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा तोरी उत्पादन अब भने बढ्न थालेको हो ।
विगतका तुलनामा यसवर्ष तोरी उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि वृद्धि हुने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । विगतमा तोरीमा लाग्ने रोग र जमिन खण्डीकरण बढेपछि तोरी उत्पादन घटेको थियो ।
कुनै समय १८ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने जिल्लामा केही वर्षअघिसम्म चार हजार हेक्टरमा सीमित भएको थियो । तर हाल १४ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा १५ देखि २० प्रतिशत तोरीको उत्पादन बढ्ने अनुमान गरिएको छ । अहिले किसानले तरकारीखेती छाडेर तोरी लगाउन थालेका छन । पछिल्लो वर्षमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रूपमा तोरीखेती कम खर्चिलो र आम्दानी राम्रो हुने भएकाले किसानको आकर्षण बढेको हो ।
मौसम अनुकूल भए यसवर्ष तोरीको उत्पादन झनै राम्रो हुने देखिएको छ । हुस्सु कुहिरो नलागेर घाम लागेमा तोरीको उत्पादन बढ्ने बताइएको छ ।यसवर्ष बाँझो रहेका जमिनमा पनि किसानले तोरीखेती सुरु गरेका छन् ।
पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा तोरी व्यापकरुपमा लगाइएको छ । आर्थिक वर्ष २०६४÷६५ यता जिल्लामा तोरी लगाउने किसान बढ्न थालेको कार्यालयले जनाएको छ । चितवनमा करिब २० हजारदेखि २५ हजार किसान भए पनि व्यावसायिक रुपमा खेती गर्ने किसानको संख्या भने ज्यादै न्यून छ । चितवनमा कात्तिकमा तोरीखेती लगाएर फागुनमा थन्क्याइने गरिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.