मितिः २०८१, १ असार शुक्रबार

चरा जोगाउन सौराहामा हिजोदेखि राष्ट्रिय कार्यशाला सुरू ः चितवनमा ३२ प्रजाति सङ्कटमा !

चितवनमा ३२ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेका छन् । बर्ड एजुकेसन सोसाइटीको तथ्याङ्कअनुसार चितवनमा मात्रै छ सय ६० प्रजातिका चरा पाइन्छन्, जसमध्ये जिल्लामा दुई वर्षको अवधिमा चार प्रजातिका चरा थपिएको बर्ड एजुकेसन सोसाइटी चितवनले जनाएको छ ।
चालू आर्थिक वर्षमा चितवनमा नेपालमै पहिलोपटक नयाँ चरा फेला परेको छ । गत भदौ महिनामा नेपालमै पहिलोपटक चितवनमा चाइनिज बकुल्ला नामको चरा फेला परेको हो । नेपालमा डङ्गर गिद्ध, लामो ठुँडे गिद्ध, सानो खैरो गिद्ध, गोमायु चिल, खर मयूर, सानो खर मयूर, बगाले बगेडीलगायत एकसय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेका छन् ।

नेपालमा चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न चितवनको सौराहामा छैटौँ राष्ट्रिय कार्यशाला हिजो मंगलबारदेखि सुरू भएको छ । तीनदिने कार्यशालामा चरा संरक्षण र पक्षी पर्यटनको सम्भावनाको अध्ययन गरिनेछ । बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पक्षी संरक्षण संघले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा छलफल हुनेछ ।
कार्यशाला उद्घघाटन कार्यक्रममा संघले नेपालमा २० वर्षको अवधिमा ३६ प्रजातिका चरा थपिएको जानकारी दिएको छ । सन् २००२ देखि सन् २०२२ सम्म आइपुग्दा ३६ प्रजातिका चरा थपिएको र एकसय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको जानकारी दिएको छ । नेपालमा सन् २००२ मा आठसय ५७ प्रजाति रहेकोमा सन् २०२२ मा आइपुग्दा त्यो संख्या बढेर आठसय ९३ पुगेको संघकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिनुभयो । सन् २००६ मा आठसय ६२ पुगेको प्रजाति सन् २००९ मा एक बढेर आठसय ६३ पुगेको थियो । सन् २०१२ मा आठसय ७१ हुँदै सन् २०१६ मा आठसय ७८ र सन् २०१८ मा आठसय ८६ पुगेको थियो ।

कार्यशालामा चरा लोप हुनुको कारण, संरक्षणका लागि भएका प्रयासलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । जिल्ला तहमा गठन भएका बर्ड एजुकेसन सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थामा आबद्ध चरा संरक्षणकर्मीहरुले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाहरुले कार्यगत विवरण प्रस्तुत गर्नेछन् ।
उक्त उद्घघाटन कार्यक्रममा संघका कोषाध्यक्ष राजकुमार राईले राज्य, संरक्षणकर्मी र निकुञ्ज तथा आरक्षका कर्मचारीहरुको त्रिपक्षीय सहकार्यबाट मात्र चरा संरक्षणको कामले सार्थकता पाउने बताउनुभयो । बार्षिकरुपमा प्रजाति बढ्दै गएको भए पनि सङ्कटापन्न अवस्थामा रहेका चराहरुलाई जोगाउने काम चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।
बासस्थान र आहारको अभावका कारण नेपालमा चरा सङ्कटमा परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटन विकासको दृष्टिकोणले मात्र नभएर जैविक विविधतागत सुन्दरताका लागि पनि चरा जोगाउनुपर्ने बताइएको छ ।
बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं–६ का वडाध्यक्ष किरण महतो, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा देशभरका ६० जना चराविद्, चरा संरक्षणकर्मीहरुको सहभागिता छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.