मितिः २०८१, ५ असार मंगलवार

नारायणगढका सडक सीमाभित्रका संरचनामा डोजर चलाइँदै

नारायणगढ–गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन लागिएको हो । पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्ने बताइएको छ । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको संख्या एक सयभन्दा माथि छन् । घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी साताबाट घर भत्काउन थालिने भएको छ । हेबी इक्युप्मेन्ट डिभिजन कार्यालय हेटौँडाबाट एक्साभेटर मगाइँदैछ । आज प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल गरी आउँदो साताबाट घरटहरा भत्काउन सुरु गर्ने बताइएको छ । सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइनेछ । यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको पौडेलको भनाई छ । सो सडक विस्तारको काम भइरहेको छ ।
डिभिजन सडक कार्यालयको आवश्यक सुरक्षा दिएर काममा सहयोग गरिने प्रजिअ अस्मान तामाङको भनाई छ । भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन् । केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन् । घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.