मितिः २०८१, ५ असार मंगलवार

भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकको लापरवाहीः नपढाई हाजिरीकै भरमा खान्छन् तलब

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो ।
चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ ।
आज (बुधबार) नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरु अनिता कार्की र दिप शर्माले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर तलब खाने गरेको विद्यार्थीहरुको आरोप छ । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष सुभास पौडेलले शिक्षकहरु पढाउन नआउने गरेको गुनासो बढेपछि आफूहरुले क्याम्पस प्रमुखलाई राखेर छड्के अनुगमन गरेको बताउनुभयो । सोही अनुगमनको क्रममा कार्की र शर्माले पुस ८ गतेसम्मको हाजिरी ६ गते नै गरेको भेटिएको हो ।

पढाउन नआई हाजिरी गर्नु शिक्षकहरुको गल्ती नै हो । यस्तो हुनुमा क्याम्पस प्रशासनको पनि कमजोरी देखिएको छ । प्रशासनले पढाइ भएको नभएको प्रभावकारी ढंगले अनुगमन गर्न नसकेका कारण शिक्षकले यसको फाइदा उठाउँदै गएका छन् । एक वर्षको कोर्स दुई महिनामा सिध्याउने प्रचलन पनि वीरेन्द्र बहुमुखी क्याम्पसमा रहेको विद्यार्थीहरुको गुनासो छ । विद्यार्थीहरुले अहिलेलाई सचेत मात्र गराएको र फेरी पनि अटेर गरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
क्याम्पसमा हुने लापरवाही र गल्तीलाई क्याम्पस प्रमुख प्राध्यापक डा दयाराम पौडेलले पनि स्वीकार गर्नुभएको छ । उहाँले हाजिरीलाई राम्रोसँग अनुगमन गर्न नसक्नु आफूहरुको कमजोरी भएको बताउनुभयो । कक्षामा पढाइ भएको वा नभएको अनुगमन गर्ने काम हरेक विभागीय प्रमुखहरुबाट हुनुपर्छ । उक्त क्याम्पसमा तीनसय शिक्षक र ५० जना कर्मचारी रहेको बताइएको छ । शिक्षकले यस्ता कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने र गल्ती गर्नेलाई कारबाही पनि गर्नुपर्ने क्याम्पस प्रमुखको तर्क छ । यसमा व्यक्तिको पनि कमजोरी रहेको बुझिएको छ । उक्त क्याम्पसमा सबैलाई व्यवस्थापन गरेर प्रशासन चलाउन गाह्रो हुने भएकाले क्याम्पसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताइएको छ । वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुको अन्यत्र निजी क्याम्पसहरुमा लगानी भएकोले पनि क्याम्पसमा तोकिएको समयमा प्राध्यापकहरु बस्न नसक्ने विद्यार्थी र अभिभावकहरुको गुनासो छ । काम नै नगरे पनि तलब पाइन्छ भन्ने कर्मचारी र प्राध्यापकमा गलत मानसिकता रहेको कारणले वीरेन्द्र क्याम्पस धरासायी बन्दै गएको अभिभावकहरुको आरोप छ ।
विसं २०२२ सालमा स्थापित भएको वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको एक मात्र त्रिभुवन विश्वविद्यालयको आंगिक र पुरानो क्याम्पस हो । चितवनमा मात्र नभई समग्र चितवन र यसको वरपरका जिल्लाबाट विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न आउँछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.