मितिः २०८१, १ असार शुक्रबार

चितवन महोत्सवको मुख्य आकर्षणमा ‘मेड इन नेपाल’ रहने

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने १४औँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । अब आउँदो पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने चितवन महोत्सव नारायणी नदी किनारमा हुँदैछ । महोत्सवमा ‘मेड इन नेपाल’ मुख्य आकर्षणको रुपमा रहने छ ।
महोत्सवभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले मेड इन नेपाल एक्स्पो गर्ने भएको छ । एक्स्पोभित्र करिब ५० वटा स्टल रहने नेपाली युवा उद्यमी मञ्च चितवनले जनाएको छ । स्वदेशमा उत्पादित वस्तु तथा सेवाको प्रबद्र्धनका लागि महोत्सवभित्र मेड इन नेपाल एक्स्पो गर्न लागिएको नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो । एक्स्पोमा नेपालमा उत्पादित जुनसुकै वस्तुहरुको स्टल राख्न पाइने बताइएको छ ।
स्वदेशमा नै उद्यम गर्न चाहनेले पनि एक्स्पोबाट केहि सिक्न सक्नेछन् । एक्स्पोमा रहने स्टलको बुकिङ अन्तिम चरणमा पुगेको जनाइएको छ । चितवन महोत्सवमा हुन लागेको मेड इन नेपाल एक्स्पो तेस्रो संस्करण हो । एक्स्पोमा विशेष स्टलको ५० हजार र सामान्य स्टलको ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । स्टार्ट अप उद्यमीलाई स्टलमा विशेष छुट पनि दिन सकिने बताइएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पनि ‘मेड इन नेपाल’ एक्स्पो चितवन महोत्सवकै आकर्षण बन्ने बताउनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.