मितिः २०८१, १ असार शुक्रबार

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ आउँदो बुधवार

बागमती प्रदेश सभाका नवनिर्वाचत सदस्यको शपथग्रहण कार्यक्रम अब आउँदो पुस १४ गते बिहिवार हुने भएको छ ।
आज शुक्रबार बागमती प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सदस्यहरूको शपथग्रहण १४ गतेका लागि तय गरेको हो । उक्त बैठकले प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरूको शपथग्रहणको मिति र ज्येष्ठ सदस्यको नामको विषयमा निर्णय गरेको छ । प्रदेश सभा सदस्यहरूको शपथअघि पुस १३ गते बुधवार ज्येष्ठ सदस्यलाई शपथग्रहण गराइनेछ । ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ ।

ज्येष्ठ सदस्यको शपथपश्चात् बाँकी सांसदहरूलाई शपथग्रहण गराइने बताइएको छ । नुवाकोटबाट निर्वाचित माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगाना ज्येष्ठ सदस्यको रूपमा पहिचान हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले १३ गते बुधवार दिउँसो २ बजे शपथ गराउनुहुनेछ ।
निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको १५ दिनभित्र सांसदको शपथ सक्नुपर्ने व्यवस्था छ । आयोगले बागमती प्रदेशमा निर्वाचित भएका सदस्यहरूको विवरण यही पुस २ गते प्रदेश प्रमुख शर्मालाई बुझाएको थियो । यस्तै, २० दिनभित्र बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पुस १७–१८ मा प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहेको बताइएको छ । प्रदेश सभाको पहिलो बैठकको मिति भने प्रदेश प्रमुखको कार्यालयसँगको समन्वयमा निर्धारण गरिने जनाईएको छ । ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.