मितिः २०८१, १ असार शुक्रबार

यातायात व्यवस्थापनमा हिजोदेखि नयाँ नियमः दोहोरो भाडाको मारमा परे यात्रु

भरतपुर महानगरपालिकामा हिजो बिहीबारदेखि यातायात व्यवस्थापनमा नयाँ नियम लागू भएपछि यात्रुहरु दोहोरो भाडाको मारमा परेका छन् ।
नयाँ नियम लागू भएपछि लोथरतर्फबाट आउने यात्रु भने नारायणगढ पुग्न एउटा गाडीबाट झरेर अर्काे गाडी चढ्नुपर्ने बाध्यताका बीच भाडा पनि दोहोरो तिर्नुपर्ने भएपछि यात्रुहरु मारमा परेका हुन् ।
यसअघि लोथरतर्फबाट आउने बसले यात्रुलाई नारायणगढसम्मै पु¥याउँथे । नयाँ नियम लागू भएपछि ती बस केन्द्रीय बसपार्कमा रोकिनुपर्ने भएको छ । बिहीबारदेखि टाँडी, पर्सा, भण्डारा र लोथरबाट आएका बसले यात्रुलाई बसपार्क चोकमा झारिदिन सुरू गरे, तर भाडा भने घटाएनन् । पुरानै भाडा लिएर गन्तव्यभन्दा अगाडि नै झारिदिएपछि यात्रुहरु रिसाए । नयाँ नियमले ठेकेदार र ठूलाबडालाई मात्रै फाइदा पुगेको तर आमसर्वसाधारणलाई भने सास्तीमात्रै थपिएको यात्रुको गुनासो छ ।
सुरूवाती चरणमा नयाँ नियम कार्यान्वयनमा केही चुनौतीपूर्ण देखिएको छ । खुरखुरेबाट नारायणगढ पुग्न प्रतिव्यक्ति ७० रूपैयाँ भाडा तिरेर आएका यात्रुले बसपार्क चोकमा झरेर अर्काे गाडीलाई फेरि भाडा तिर्नुपर्ने भएको छ । पूर्वबाट आएका यात्रु सीधै नारायणगढसम्म जान पाउनुपर्ने यात्रुहरुको माग छ । बीच बाटोमा झार्ने भए गाडी भाडा घटाउनुपर्ने र नयाँ नियमबारे बस स्ट्यान्डमा सूचनापाटी पनि राख्नुपर्ने उनीहरु बताउँछन् ।
माइक्रो र मिनीबसलाई एउटै नियम लागू हुनुपर्ने चितवन छहारी यातायातका उपाध्यक्ष श्यामकुमार श्रेष्ठले बताउनुभयो । आफूहरुले पहिला पनि केन्द्रीय बसपार्कलाई शून्य बिन्दु बनाएर भाडा निर्धारण गरिएको भन्दै उहाँले यात्रुलाई सहजताका लागिमात्रै त्यही भाडामा नारायणगढसम्म पु¥याउने गरिएको दाबी गर्नुभयो । बसपार्कमा झार्न थाले पनि भाडा भने नघट्ने उहाँको भनाई छ ।

लोथरतर्फबाट आउने गाडीलाई पहिलाकै भाडामा नारायणगढसम्म जान दिनुस् । यदि त्यो नभए एउटै भाडामा नारायणगढ पुगेर पोखरा बसपार्क हुँदै आँपटारी भएर केन्द्रीय बसपार्क आएर बस्छौँ र जाने बेलामा पनि आँपटारी–पोखरा बसपार्क भएर लोथरतर्फ जान्छौँ भन्दा पनि प्रशासनले नमानेको उहाँको तर्क छ । लोथरबाटै आउने म्याजिक भने भित्री बाटोबाट छिरेर नारायणगढसम्म पुगेको हुनाले सबैलाई एउटै नियम लगाउनुपर्छ भन्ने माग यातायात व्यवसायीको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भने भाडाको विषयमा अर्काे चरणमा छलफल गर्नुपर्ने बताएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले यातायात व्यवस्थापनको नयाँ नियम सबैले पालना गर्नुपर्ने भन्दै उहाँले प्रशासन कार्यालय र यातायात कार्यालय लगायत सरोकारवाला निकायको सहमतिमा भाडादर तय गर्नुपर्ने बताउनुभयो ।
भाडा घटाउने विषय दोस्रो चरणको कुरा भएकाले अहिलेलाई नयाँ नियम सबैले मान्नुपर्ने र लोथरतर्फबाट आएका र भित्री बाटो छिरेर दुःख दिएका केही म्याजिकलाई कारबाही पनि भएको बताइएको छ ।

भरतपुरका दुईवटा बसपार्कलाई सञ्चालनमा ल्याउने उद्देश्यले यातायात व्यवस्थापनमा नयाँ नियम लागू गरिएको हो । भरतपुर महानगरपालिकामा गत मंसिर २८ गते बसेको सर्वपक्षीय बैठकले नयाँ नियमबारे निर्णय गरेको हो । नयाँ नियम लागू भएपछि भरतपुर र नारायणगढ क्षेत्रबाट गण्डकी प्रदेशतर्फ जाने सबै बसहरु पोखरा बसपार्कबाट छुटेका छन् । चितवन भएर पूर्व–पश्चिम आउजाउ गर्ने र काठमाडौँतर्फ आउजाउ गर्ने बस केन्द्रीय बसपार्कबाट छुट्ने बताइएको छ ।
पुलचोक क्षेत्रबाट काठमाडौँका लागि छुट्ने माइक्रोहरु पनि केन्द्रीय बसपार्कबाटै छुट्नेछन् । त्यस्तै, पुलचोकदेखि पोखरा बसपार्कसम्मको मुख्य सडकमा बस सञ्चालनमा रोक लगाइएको छ । यस क्षेत्र भएर गुड्ने बस अब भरतपुर बाइपास सडक भएर गन्तव्यतर्फ जानुपर्नेछ । नयाँ नियमअनुसार लोथरतर्फको लोकल बस अब केन्द्रीय बसपार्कमै रोकिनेछन् । त्यहीँबाट बसहरु पूर्वी चितवन जाने र बसपार्कबाट नारायणगढ क्षेत्रमा प्रवेश नपाउने गरी रूट तय गरिएको छ । पश्चिम चितवनतर्फ लाग्ने बसको हकमा भने चौबीसकोठीलाई आधार मानिएको छ । यहीँबाट बसहरु छुट्नेछन् । बसपार्कसम्म उनीहरुलाई जान नपर्ने ट्राफिकको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.