मितिः २०८१, १ असार शुक्रबार

यि हुन् १९ वर्ष दुई महिना केन्द्रीय कारागारमा बिताएर छुटेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज !

सिरियल किलर फ्रान्सेली नागरिक चाल्र्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर हिजो बिहिबार थुनामुक्त भएका छन् ।
केन्द्रीय कारागार, सुन्धाराले उहाँलाई थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उहाँलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।
शोभराज चार वर्षअघि नै उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेको भएपनि कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा रहेर आदेश हुने गरेको थियो ।
२०७५ फागुन १२ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा नगर्ने भन्दै अदालतले सरकारलाई प्रश्न गरेको थियो ।
पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट प¥यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगिसकेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट ग¥यो । र, केन्द्रीय कारागारले २०७९ असार ७ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो । चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।
पुनरावेदन अदालत, पाटनले २०७३ वैशाख २७ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो । तर, हालसम्म उनलाई कारागारभित्रको पनि कारागार भनेर चिनिने गोलघरमा राखिएको थियो । गोलघरलाई जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पु¥याउन सक्ने व्यक्तिलाई राखिन्छ ।केन्द्रीय कारागारले भने अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउने गरेको थियो ।
कुख्यात अन्तर्राष्ट्रिय अपराधीका रुपमा चिनिएका शोभराजमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ । ६ अप्रिल सन् १९४४ मा हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको उपनिवेश गरेको साइगोनमा जन्मिएका शोभराज पारिवारिक वातावरण राम्रो नभएका कारण किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न बनेका थिए ।
सन् १९६३ मा पेरिसमा उनी पहिलोपटक चोरीको अभियोगमा पक्राऊ परेका थिए । जेलमा रहँदा बस्दा उनको भेट फेरि ठूला अपराधीसँग हुन पुग्यो । त्यसपछि उनी पेरिसको सम्भ्रान्तदेखि अन्डरवल्डसम्मको संगतमा परे । त्यसपछि त उनी कुख्यात अन्तर्राष्ट्रिय अपराधी बन्न पुगे ।
उनले विवाह तय गरेका थिए । तर बिहे नहुँदै कार चोरीको अभियोगमा पक्राउ परेर आठ महिना जेल बसेर फेरि छुटे । त्यसपछि विवाह गरे । बिहेपछि पनि उनी अपराधको दुनियाँमा व्यस्त रहे । प्रहरीको सर्वाधिक खोजी सूचीमा परेपछि उनी नक्कली कागजपत्रसहित भागेर एसियातर्फ गए । एसियाका थाइल्यान्ड, भारत, हुँदै नेपाल आइपुगे । त्यसपछि पनि उनी पर्यटकहरूलाई लुट्ने अनि हत्या पनि गर्ने गर्थे ।
उनी भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परेपनि हिरासत र जेलबाटै भाग्न पनि सफल भए । किनकि उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे भने कतिपय अवस्थामा त प्रहरीलाई घुस खुवाएरै भाग्थे ।
उनले विभिन्न देशमा २० भन्दा बढी पर्यटकको हत्या गरेका छन् । थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेको बताइएको छ । भारतमा उनलाई सन् १९७६ मा २१ वर्ष जेल सजाय सुनाइएको थियो । तर, १० वर्षमै जेलबाट भागे । आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज खुवाएका थिए । त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो । भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी भारतको चर्चित तिहाड जेलबाट भाग्न सफल भएका थिए । उनी सन् २००३ (२०६१) मा नेपाल आउँदा पक्राऊ परेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.