मितिः २०८१, १ असार शुक्रबार

रानी नाकाबाट एकसय ३१ महिला तथा बालिकाको उद्धार

एक वर्षको अवधिमा विराटनगरको रानी नाकाबाट एकसय ३१ महिला तथा बालिकालाई उद्धार गरिएको छ । भारततर्फ बेचबिखनका लागि लग्दै गरेको अवस्थामा उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको गैरसरकारी संस्था माइती नेपालले जनाएको छ ।
माइती नेपाल मोरङका कार्यक्रम संयोजक विनोद पोखरेलका अनुसार सन् २०२२ देखि हालसम्म उद्धार गरिएकामध्ये १८ देखि ६० वर्ष उमेरसम्मका ८९ र १२ देखि १८ वर्षमुनि उमेरका ४२ छन् । सबभन्दा बढी मोरङका ३६, सुनसरीका २१, झापाका १५, काठमाडौंका नौ, उदयपुरका सात, धनकुटा, इलाम, भोजपुरका पाँच÷पाँच, संखुवासभाका चार, सप्तरी, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, लमजुङ, सिन्धुलीका दुई÷दुई जना रहेका छन् । यस्तै, कैलाली, धनुषा, कपिलवस्तु, काभ्रेपलाञ्चोक, सर्लाही, सिरहा, गोर्खाका १÷१ र सीमावर्ती भारतीय गाउँका तीन जनाको उद्धार गरेर अभिभावकको जिम्मा लगाइएको बताइएको छ ।

मोरङका ३४ जनामध्ये विराटनगर महानगरपालिकाका १४, रंगेली र सुन्दरहरैंचा नगरपालिकाका चार÷चार कटहरी गाउँपालिकाका चार, बेलबारी र कानेपोखरीका दुई÷दुई, उर्लाबारी, धनपालथान र सुनवर्षीका एक÷एक जना छन् । त्यसैगरी जातीय आधारमा चौधरी र राजवंशी समुदायका ३४, राई, लिम्बु, मगर, तामाङ, लामा ३४, ब्राह्मण÷क्षेत्री २५, विक÷परियार १८, तराईवासी आठ, मुस्लिम पाँच, नेवार तीन, धिमाल, भुजेल, अग्रवाल, माझी समुदायका एक÷एक छन् ।
यो वर्ष महिला तथा बालिका हराएको सम्बद्धमा परेको ४७ वटा उजुरीमध्ये ११ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको बताइएको छ । बेचबिखनमा परेका एक महिलालाई भारतको दिल्लीबाट उद्धार गरिएको छ । बेचबिखनमा परेका एक बालिकालाई यो वर्ष रानी नाकाबाट उद्धार गरेर मुद्दासमेत दायर गरिएको छ । सन् २०१० देखि हालसम्ममा रानी नाकाबाट एकहजार एकसय ६९ महिला तथा बालिकाको उद्धार गरेको उक्त संस्थाले तथ्यांक सार्वजनिक गरेको छ ।
उक्त अवधिमा उक्त संस्थामा पाँचसय ५१ महिला तथा बालिका हराएको उजुरी दर्ता भएकामध्ये ८३ जनालाई खोजी गरी अभिभावकको जिम्मा लगाइएको तथ्यांकमा उल्लेख छ । मोरङको इलाका प्रशासन कार्यालय उर्लाबारीमा राहदानी बनाउन आएका एकहजार चारसय ३९ पुरुष र एकहजार ३५ महिलालाई वैदेशिक रोजगारीका बारे सचेतनामूलक शिक्षा दिएको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.