मितिः २०८१, १ असार शुक्रबार

चितवनमा घरजग्गाको कारोबार निरन्तर ओरालो लाग्दै, दाङ र बाँके भन्दा पनि पर्यो पछि

पछिल्लो एक वर्षयतादेखि चितवनमा घरजग्गा कारोबार सुस्ताएको छ ।
अहिले स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले नीतिगत अलमलले घरजग्गाको कारोबार सुस्ताएको हो ।
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ । स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा जग्गा वर्गीकरण गर्ने काम धमाधम गरिरहेका छन् । बैँकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि घरजग्गा कारोबारमा प्रभाव पारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई मंसिर २३ सम्ममा कृषि तथा गैर कृषि जग्गा छुट्याउन निर्देशन दिएको भएपनि चितवनका स्थानीय तहले भने त्यो काम प्रभावकारी ढंगले गर्न सकेनन् ।
अहिलेसम्म देशभरका ९० पालिकाबाट मात्रै जग्गा वर्गीकरण गरेको जानकारी आएको भूमि व्यवस्था तथा अभिलेख विभागले बताएको छ । जग्गा कारोबार सुस्ताए पनि चितवनमा आंशिकरुपमा किनबेच भइरहेको छ । तर यो संख्या गत वर्षको तुलनामा भने न्यून हो ।
त्यस्तै, चितवनमा गत साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय आठ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा दुई हजार सात सय ९५ संख्यामा कारोबार भएको थियो । गत वर्ष चितवनको घरजग्गाको कारोबार झण्डै काठमाडौँ उपत्यका र पोखराको हाराहारीमा नै रहेको थियो । बैँकको ऋण तिर्न नसकेर समस्यामा परेका व्यक्तिहरुले धेरै सस्तो मूल्यमा घरजग्गा किनबेच गरिरहेको चितवनका जग्गा व्यवसायी बताउँछन् । चितवनका जग्गा व्यवसायीहरुको अनुसार चितवनमा ३० प्रतिशतसम्म घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ ।

घर जग्गा कारोबारको लागि सबैभन्दा बढी आकर्षण देखिएको जिल्ला मोरङ हो । सो जिल्लामा चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि मंसिरसम्ममा एक हजार आठ सय २० संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा चार हजार आठ सय ९७ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
दोस्रोमा सबैभन्दा बढी कारोबार भएको जिल्ला हो–दाङ । दाङ जिल्लामा साउनदेखि मंसिरसम्ममा एक हजार एक सय ६१ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा यो जिल्लामा एक हजार छ सय ७० संख्यामा घरजग्गा कारोबार भएको थियो ।
त्यस्तै, सुनसरीमा एक हजार छ सय १८ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष तीन हजार पाँच सय ५२ संख्यामा घरजग्गा कारोबार भएको थियो ।
बाँके पनि घरजग्गाको आकर्षक केन्द्रबिन्दु बनेको छ । यो जिल्लाबाट साउनदेखि मंसिरसम्ममा एक हजार तीन सय ८२ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा दुई हजार चार सय ५४ संख्यामा कारोबार भएको थियो । झापामा साउनदेखि मंसिरसम्ममा एक हजार दुई सय ७१ संख्यामा घरजग्गा कारोबार भएको छ । गत वर्ष सोही अवधिमा तीन हजार नौ सय १७ संख्यामा घरजग्गा कारोबार भएको छ । चितवन जिल्लाको साउनदेखि मंसिरसम्मको कारोबार हेर्दा मोरङ, दाङ, सुनसरी, बाँके भन्दा चितवन पछाडि देखिन्छ । झापा भन्दा मात्र चितवन तथ्यांकमा अगाडि रहेको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.