मितिः २०८१, १ असार शुक्रबार

पुलचोक–गोन्द्राङ सडक विस्तार आयोजना ः भत्काएका संरचनाको थालियो पुनः मर्मत

सडक विभागले भत्काएपछि लथालिङ्ग भएको नारायणगढ क्षेत्रका अग्रभागका घरहरुको मर्मत गर्न थालिएको छ । सम्बन्धित घरधनी र व्यवसायीले भत्किएका संरचनामा पुनः मर्मतको काम थालेका हुन् । पुनः मर्मतका लागि मजदुर र निर्माण सामग्री जुटाएर धमाधम काम थालिएको छ ।
केही व्यवसायीले मर्मतको काम सकेर व्यवसायलाई पुनः सञ्चालनमा ल्याएका छन् भने केहीले वैकल्पिक बाटोबाट सेवा दिइरहेका छन् । केहीले भने पुनः मर्मतका लागि एक महिनासम्म पनि लाग्ने भनी काम गरिरहेका छन् । घरका टप, सटर, पिलर भत्किएका छन् । बिजुली, इन्टरनेट सेवा प्रभावित भएको छ ।
भत्केको संरचना बनाएर छिटो व्यवसाय सञ्चालनमा ल्याउन व्यवसायी लागिपरेका छन् ।भत्काइएको संरचना सरसफाइ र मर्मतको काम धमाधम भइरहेको बताइएको छ ।
व्यवसायीले आफैँले बनाएका संरचनाको नापजाँच नहुँदा समस्या हुन सक्नाले भत्काउने पक्षले अहिल्यै नै ठाउँ स्पष्ट पार्नु सडक विभागको जिम्मेवारी रहेको उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष शिरीष पन्तको भनाई छ । अब फेरि बनाउने पुनः भत्काउने काम गर्न नहुने उहाँको जिकीर छ । २०७१ सालमा भत्काएको संरचना फेरि आठ वर्षमै भत्काउन परेको भन्दै अब फेरि यस्तै पीडा व्यवसायीलाई नहोस् भनी सडक विभागले अहिल्यै नै क्षेत्र यकिन गर्नुपर्ने उहाँको तर्क छ ।
यथार्थरुपमा नापजाँच नगरी हचुवामा घर भत्काएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । नभत्काउनुपर्ने संरचना पनि भत्काएर दुःख दिने काम भएको व्यवसायीको गुनासो छ ।
सडकको ५० मिटरभित्र पर्दैन भनेर पटकपटक नापजाँचका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको व्यवसायी बताउँछन् । पुल्चोक–गोन्द्राङ सडक विस्तार योजनाअन्तर्गत अहिले नारायणगढ र भरतपुर क्षेत्रका सडक क्षेत्रभित्रका भौतिक संरचना भत्काउने काम भएको छ । सडक विभागले अवैध संरचना गत शुक्रबारबाट भत्काउन थालेको हो । संरचना भत्काउन थालिएपछि धेरैले आआफ्नै खालको प्रतिक्रिया दिएका छन् । सामान्य क्षति भएको अवस्थामा खासै समस्या नभएको, तर सटर नै भत्किएको अवस्थामा भने केही समय व्यापार प्रभावित हुने व्यवसायीको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.