मितिः २०८१, ५ असार मंगलवार

पोल्ट्री व्यवसाय समस्यामा, व्यवसायी भन्छन् ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्’

अण्डा,मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ । दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो ।
दशौँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहँदा व्यवसायी अब के गर्ने भन्ने चिन्तामा परेका छन् । नेपालमा पोल्ट्री व्यवसायमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ । सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ । लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्षयता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएका छन् । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायी नोक्सानमा रहेको जानकारी दिनुभयो । दैनिक घाटा व्यहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको गुनासो गर्नुभयो । बैंकले चाहिने जति ऋण नदिने र भएको ऋणमा मनपरी ब्याज बढाउने भएकाले कच्चा पदार्थको मूल्य आकाशिएपछि व्यवसाय कसरी धान्ने भन्ने चिन्तामा पोल्ट्री व्यवसायी छन् । नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भएको जनाउँदै विष्टले विकसित मुलुकमा पनि सबै कुरामा आत्मनिर्भर नहुने बताउनुभयो । आफ्नो समस्या सुन्ने र बुझ्ने कोही नभएको उहाँको गुनासो छ ।
समग्रमा आधाभन्दा बढी व्यवसाय बन्द भइसकेको जनाइएको छ । तीन सय ८४ ह्याचरी उद्योगमध्ये अहिले दुई सयमात्रै सञ्चालनमा रहेको र ती पनि पूर्ण सञ्चालन हुन सकेका छैनन् । बैंकको ऋणका कारणले मात्रै केही व्यवसाय चलेको बताइएको छ । एक हप्तामा ४५ लाख चल्ला उत्पादन हुँदै आएकामा घटेर २५ लाखमा झरेको छ । यसमा पनि आधा बिक्री हुन नसकेको बताइएको छ ।
महासङ्घका उपाध्यक्ष एवं ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ । कोभिडपूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकामा गएको वैशाखयताको सरदर मासिक ६० हजारमात्रै आउने गरेको उहाँले जानकारी दिनुभयो । प्यारेन्टबाट उत्पादित चल्लासमेत सबै बिक्री हुन नसकेको उहाँको भनाइ छ । मासुको माग निकै घटेकाले उत्पादन भएर पनि कुखुरा नबिकेको उहाँको गुनासो छ । भारतमा बिक्री गर्न नमिल्ने गरी बूढा भएका कुखुरा नेपालमा सस्तोमा आउने हुँदा यहाँको उत्पादनले मूल्य नपाएको बताइएको छ । ब्रोइलर कुखुरा २८ देखि ३५ दिनभित्रको खान उपयुक्त हुने भएपनि बजारमा बूढा कुखुराको मासु आउने गरेको छ । धेरैजसो भारतबाट ल्याएर कोल्डस्टोरमा राखेर बिक्री गर्ने गरेको बताइएको छ ।
भारत सरकारले कुखुरापालनमा जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ । भारतमा लागत कम हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाइ छ । ब्रोइलर (मासु खाने कुखुरा)को देशभरमा २५ हजार फार्म रहेकामा आधाभन्दा बढी बन्द छन् । कुखुरा पाल्नका लागि आर्थिक अभावमा कृषकले कुखुरा पाल्न सक्ने अवस्था छैन ।
नेपालमा दुई हजार पाँच सय लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन् । तीस हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ५० हाराहारी छ । यसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ । पोल्ट्री व्यवसाय चरम संकटमा पुगेपछि केही महिनाअघि ठूला लेयर्स फार्मका सञ्चालकहरू संगठित भएर नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेका छन् ।
संघका अध्यक्ष विनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताउनुभयो । साना व्यवसाय धेरै बन्द भइसकेको र ठूला व्यवसायी पनि आगामी वर्षसम्म यस्तै अवस्था रहे बन्द हुने उहाँको भनाई छ । सरकारी तवरबाट नहेरिएको गुनासो गर्दै बर्डफ्लुका कारण मारिएको कुखुराको क्षतिपूर्ति १० महिना पुग्दासमेत नपाएको उहाँले गुनासो गर्नुभयो । दुई वर्षअघि एक क्रेट (३० वटा) अण्डा रु चार सय पाँचमा बिक्री हुँदा दानाको मूल्य रु ४५ थियो । तर, अहिले अहिले दानाको मूल्य रु ७० पुग्दा पनि आफूहरुले अण्डा केही दिन अघिसम्म रु दुई सय २५ मा पनि बिक्री गरेको पोखरलेको भनाई छ । अहिले कृषकले प्रक्रिकेट रु तीन सय ५० सम्ममा बिक्री गर्न सकेका छन् । अण्डाको लागत मूल्य प्रतिक्रेट रु चार सय ५० रहेको छ । अहिले पनि प्रतिक्रेट रु एक सय घाटामा अण्टा बिक्री गरिरहेको पोखरेलले बताउनुभयो । नेपालमा दैनिक अण्डा उत्पादन ४० लाख वटा हाराहारी छ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने सात प्रतिशतमा बैंकबाट लिएको ऋण १५ प्रतिशत पुगेको भन्दै अब तालाचाबी बैंकलाई बुझाउनुको विकल्प नभएको बताउनुहुन्छ । पाँच वर्षअघि प्रतिकिलो रु ३० मा किन्ने दाना अहिले ७० पुगेको भन्दै दानाको मूल्य दोब्बर हुने, उत्पादन सस्तोमा बिक्री गर्नुपर्दा व्यवसायी धेरै दनि नटिक्ने उहाँको भनाई छ । कुखुरामा लगाउने भ्याक्सिनले वैधता नपाउँदा चोरी बाटोबाट आइरहेको भन्दै उहाँले महँगोमा खरिद गरेर लगाउनुपरेको बताउनुभयो । राज्य भएको अनुभूति गर्न नसकिएको उहाँको गुनासो छ । कृषकको लागत उठ्नका लागि मासु प्रतिकिलो रु पाँच सय र अण्डा प्रतिक्रेट रु पाँच सयमै बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।
नेपालमा दानाका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ र औषधि विदेशबाट आउने गर्दछ । देशभरमा एक सय २० वटा दाना उद्योग छन् । पछिल्लो समय कच्चा पदार्थको मूल्य अत्यधिक बढेसँगै दानाको मूल्य बढेको लामिछानेको भनाइ छ ।
सरकारले सम्बोधन गरेमा लागत मूल्य घट्ने उहाँको भनाइ छ । कृषि कर्जा पोल्ट्रीमा मात्रै लगानी गर्दा अन्य कृषि क्षेत्रमाथि उठ्न नसक्दा अहिले समस्या आएको बताइएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको जानकारी दिनुभयो । बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणीकरण नभएको उहाँको भनाई छ । नयाँ सरकार बनेसँगै बोर्ड गठन हुने र यसले पोल्ट्री क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने बताइएको छ । बोर्ड गठनसँगै पोल्ट्रीजन्य उत्पादनको वैज्ञानिक मूल्य निर्धारण, अनुगमन, उत्पादन र बिक्री गर्नेलाई अनुमतिपत्रलगायतका नीतिगत काम हुने बताइएको छ ।
सरकारले छिट्टै निर्वाहमुखी, अर्धव्यवसायी र व्यवसायी गरी तीन प्रकारका कृषक परिचयपत्र वितरण गर्ने जनाइएको छ । मानव स्वास्थ्यका लागि अण्डा र मासु महत्वपूर्ण भएकाले खपत बढाउने काममा लाग्ने र एक जना व्यक्तिले वार्षिक एक सय अण्डा खाने गरी अभियान सञ्चालन गर्नुपर्ने बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.