मितिः २०८१, १ असार शुक्रबार

भरतपुरको पार्वतीपुरमा उपमेयर अधिकारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत आज सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा वितरण गर्नुभएको हो ।
आधारभूत बिद्यालय रंगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जना गरी एकसय नौ जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । मेयरसँग बालबालिका कार्यक्रम मुलत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रति लक्षित छ । कार्यक्रममा भरतपुर महानगरका उपमेयर अधिकारीले अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुनुनपर्ने बताउनुभयो । चिसोबाट थप कोही पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले ससाना बालबालिकाहरुलाई लक्षित गरेर न्यानो कपडा वितरण गरेको उहाँको भनाइ छ ।
यसअघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौसय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.