मितिः २०८१, १ असार शुक्रबार

अब सांसदलाई विद्युतीय हाजिरी

राष्ट्रिय सभामा सांसदहरूका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । आउँदो सोमबारबाट हुने अधिवेशनदेखि नै विद्युतीय हाजिरी गराउन संसद् सचिवालयले राष्ट्रिय सभा सदस्यहरूको बायोमेट्रिक लिन सुरु गरेको छ । विद्युतीय हाजिरीले समयमै आउने र नआउने सांसदहरूको पहिचान हुनेछ ।
सांसदले हाजिर गरेपछि एक हजार बैठक भत्ता र एक हजार यातायात खर्च पाउने व्यवस्था छ । संसद्को नियमावलीमै विद्युतीय हाजिरीको प्रावधान रहे पनि पदाधिकारीले नचाहेकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । प्रतिनिधिसभामा यसअघि सांसदहरू बैठक सकिएपछि हाजिर गर्न संसद् भवन जाने गरेका थिए ।
केही सांसदले बैठकमा हाजिर छुटेको भन्दै भोलिपल्ट हाजिर गराउन सचिवालयका कर्मचारीलाई दबाब दिने गरेका थिए । अब विद्युतीय हाजिर सुरु गरेर बैठक बसेकै दिन उपस्थितको विवरण सार्वजनिक गर्नुपर्ने बताइएको छ ।
राष्ट्रिय सभाले यसअघि बैठक सकिएलगत्तै सांसदहरूको हाजिरी ‘वेबसाइट’ मा राख्ने गरेको थियो । सर्वसाधारणले प्रतिनिधिसभाका सांसदको हाजिरी सहजै हेर्न पाउँदैनन्  । प्रतिनिधिसभाले विगतको जस्तै कागजी हाजिरीलाई नै निरन्तरता दिने भएको छ । सचिवालयले प्रतिनिधिसभा बैठक सुरु हुनुभन्दा आधा घण्टाअघि र बैठक सकिएको आधा घण्टासम्म संसद् भवनमै हाजिर पुस्तिका राख्ने गरेको छ । हाजिरी पुस्तिका बैठक बसेको दिन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै छाडेर भोलिपल्ट मात्रै सिंहदरबारस्थित सचिवालयमा ल्याउने गरिएको छ ।

प्रतिनिधिसभाको अघिल्लो नियमावली र राष्ट्रिय सभाको नियमावलीमा बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर राखिएको पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने उल्लेख छ  । संघीय संसद्लाई प्रविधिमैत्री बनाउन राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालको संयोजकत्वमा बनेको अध्ययन समितिले नियमावलीबमोजिम विद्युतीय हाजिरीको व्यवस्था तत्कालन कार्यान्वयन गर्न सुझाव दिएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समितिको सुझाव तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । राष्ट्रिय सभामा विद्युतीय हाजिर सुरु भएपछि प्रतिनिधिसभालाई पनि विद्युतीय हाजिर गर्न दबाब पर्ने सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कागजी हाजिर छाडेर विद्युतीय हाजिरमा लाग्नु सकारात्मक कदम रहेको बताउनुभयो । यसलाई प्रभावकारी बनाउदै प्रतिनिधिसभामा पनि लागू गर्नुपर्ने बताइएको छ । विद्युतीय हाजिरले सांसदलाई नैतिकतामा बाँध्नुका साथै संसद्मा नियमित उपस्थित भएर जनताप्रति उत्तरदायी बनाउन सहयोग गर्नेछ । संसद्लाई प्रभावकारी बनाउन सांसद बैठक कक्षमा छिर्नुअघि र बाहिरिनुअघि नै हाजिर हुने व्यवस्था मिलाउनुपर्ने संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाको भनाई छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.