मितिः २०८१, १ असार शुक्रबार

बसाइँसराइँलाई रोक्न धनकुटाको एउटा स्थानीय तहले अनुदानमा लैनो गाई दिँदै

धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट बसाई सरेर आउनेलाई अनुदानमा लैनो गाई उपलब्ध गराउन थालेको छ । बसाइँ सरेर स्थायी बसोबास गर्न आउने हरेकले प्रोत्साहन स्वरुप उपहारको रुपमा एउटा दुहुनो गाई पाइरहेका छन् । तेह्रथुमको छथरगाउँपालिका सुदापबाट छथरजोरपाटी गाउँपालिकाको जोरपाटीमा बसाइ सरेर आउँदा लैनो गाई उपहार पाएको स्थानीयवासी बिमला बस्नेतले जानकारी दिनुभयो । उपहारमा दुहुँना गाई पाएपछि बस्नेतले अरु गाई थपेर पशुपालनमै व्यावसायिक बन्ने योजना बनाउनुभएको छ । हालसम्म धनकुटाको छथरजोरपाटी गाउँपालिका भित्रिएका ३५ परिवारलाई उपहारमा दुहुँना गाई वितरण गरिएको गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । आफै गाई खरिद गर्न चाहनेलाई गाउँपालिकाले अधिकतम ६१ हजार रूपैयाँ नगद दिने गरेको छ । बसाइँ सराई दर्ता भएको तीन महिनापछि लालपूर्जा र वडाको सिफारिसका आधारमा मात्रै नव आगन्तुकले यस्तो उपहार पाउन योग्य हुनेछन् । गाउँपालिकाले अन्यत्रबाट बसाई सरी आएका नागरिकलाई दुहुना गाई उपहार दिएपछि अन्यत्रबाट छथरजोरपाटी गाउँपालिका भित्रिनेको सङ्ख्या पनि बढेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.