मितिः २०८१, १ असार शुक्रबार

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले र माओवादीकै मुख्यमन्त्री बन्ने सम्भावना

बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूले सरकार गठनका लागि आह्वान गरेका छन् ।
बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । उक्त प्रदेशमा नयाँ सरकार गठनका लागि आउँदो २५ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले दलहरूलाई आह्वान गर्नुभएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ ।

एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बाग्मती प्रदेशमा कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१ र राप्रपासँग १३ जना प्रदेश सभा सदस्य छन् । यस्तै, लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ । शेरचनले यहि पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिनुभएको बताइएको छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसदको आवश्यकता पर्दछ । एमालेसँग २९ र माओवादीसँग १० जना सांसद रहेका छन् । मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन । यस्तै कर्णाली प्रदेश प्रमुख तिलक परियारले पनि मुख्यमन्त्रीका लागि दावी पेस गर्न छ दिनको समय दिनुभएको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३ र एमालेका १० जना सांसद रहेका छन् । बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा एमाले वा माओवादीको सरकार बन्ने सम्भावना रहेको बुझिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.