मितिः २०८१, १ असार शुक्रबार

स्ववियु निर्वाचन चैत ५ मा गर्न प्रस्ताव

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले अब आउँदो चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्मा आज बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो ।
विद्यार्थी संघ÷संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिनुभयो । हिउँदे बिदा‚ फागू पूर्णिमालगायतका कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद्ले जनाएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसक्नुभएको छ । कार्यकारीले अनुमोदन गरेपछि आउँदो चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ ।
त्रिवि शैक्षिक क्यालेन्डरमा दुई÷दुई वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।
त्रिविका पदाधिकारीले विद्यार्थी संगठन, राजनीतिक दल र सरकारको सहयोग रहे निर्वाचन सम्पन्न गर्न सकिने तर्क गर्दै आएका छन् । विद्यार्थी संगठनले भने त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखको इच्छाशक्तिमा चुनाव हुने वा नहुने निर्भर रहने बताएका छन् ।

२०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगित हुन पुगेको थियो । त्यतिबेला राजनीतिक दल र ठूला विद्यार्थी संगठन तयार नहुँदा चुनाव अनिश्चित बनेको विश्वविद्यालय पदाधिकारीको आरोप छ । विद्यार्थी संगठनले भने निर्वाचन गराउन विश्वविद्यालयले नचाहेको बताउँदै आएका छन् ।
२०७३ मा निर्वाचित स्ववियुको थपिएको म्याद पनि सकिइसकेको छ । स्ववियुको म्याद छ÷छ महिना गरी दुई पटक थप गर्न सकिने नियममा उल्लेख छ । निर्वाचन हुन नसकेका क्याम्पसमा २०७४ मा निर्वाचन गर्ने त्रिविको प्रयास सफल हुन सकेन । कार्यकारी परिषद्ले पुनः २०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गरेको थियो । त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, एक हजार ४० सामुदायिक र निजी क्याम्पस छन् ।
२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ । यस प्रणालीमा मनोनयन गर्ने अन्तिम दिनसम्म २८ वर्ष पूरा नभएका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिवलगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा विद्यार्थीले आफ्नो संगठित वा स्वतन्त्र÷व्यक्तिगत रूपमा पनि उम्मेदवारी दिन सक्नेछन् । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ । स्ववियुको संरक्षक क्याम्पस प्रमुख रहनेछन् ।
विद्यार्थीहरूको हक, हितको संरक्षण, संवर्द्धनका लागि सक्रिय रहने, विद्यार्थीको बौद्धिक र चारित्रिक विकासका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने, क्याम्पसभित्रको पठनपाठनका लागि उपयुक्त वातावरण बनाउने, विद्यार्थीमा अनुशासन कायम राख्ने, बौद्धिक, रचनात्मक तथा अतिरिक्त क्रियाकलापमा उत्प्रेरित गराउने, क्याम्पसमा शैक्षिक तथा संस्थागत विकासका लागि सदैव क्रियाशील रहने स्ववियुका उद्देश्य छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.