मितिः २०८१, १ असार शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई दुईसय ६८ सांसदले दिए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मंगलबार विश्वासको मत पाउनुभएको छ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
आज प्रतिनिधिसभामा उपस्थित भएका दुईसय ७० सांसदमध्ये उहाँको पक्षमा दुईसय ६८ मत र विपक्षमा दुई मत खसेको बताइएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिनुभएको हो ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रचण्डलाई नै प्रधानमन्त्रीमा समर्थन गरेपछि उहाँ नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बन्नुभएको छ ।
आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नुभएको छ । फरक मत राखे पनि पार्टीले जारी गरेको ‘ह्विप’ का कारण उहाँहरुले प्रचण्डलाई नै मत दिनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत नदिएको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.