मितिः २०८१, ५ असार मंगलवार

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्छौं ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ ।आज ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हस्तकला उद्योग नेपालको अर्गानिक क्षेत्र भएको बताउनुभएको छ ।
हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र भएकाले यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकेमा एकातिर व्यापार घाटा कम गर्न सकिने र अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिने दाहालको भनाइ छ । त्यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध रहेको प्रम दाहालको तर्क छ ।

उहाँले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवद्धन गर्नुपर्ने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन । मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु । सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु ।’
‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु । यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु,’ प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘म तेस्रोपटक प्रधानमन्त्री भएको छु । यो मेरा लागि परीक्षा पनि हो । म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ ।’
त्यस्तै निर्वाचनले आफुलाई मिलेर जाने जनमत दिएकाले आफूहरूलाई अहंकार गर्ने छुट नभएको उहाँले उल्लेख गर्नुभएको छ । जनताले कसैलाई पनि अहंकार गर्ने अभिमत नदिएको बताउँदै उहाँले इमान्दार भएर जनताको पक्षमा राम्रो काम गर्न नसकेमा आफूहरु यो परीक्षामा चुक्ने बताउनुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.