मितिः २०८१, १ असार शुक्रबार

भूकम्पबाट बाजुराका ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

मङ्गलबार गएको भूकम्पका कारण बाजुरामा ४२ परिवार विस्थापित भएका छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ गरी ४२ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भूकम्पबाट प्रभावित परिवार आफन्तकहाँ बसेका छन् । घरमा बस्न सक्ने अवस्था नरहेका पाँच परिवार भने त्रिपालको सहारमा छन् । बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार त्रिपालमुनि रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उक्त भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ । भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको जनाइएको छ । बडीमालिकामा ३१, बूढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ । यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ।
भूकम्पबाट प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो । गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ की छ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेका छन् । भूकम्पले पु¥याएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ । मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा उक्त क्षति भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.