मितिः २०८१, १ असार शुक्रबार

बाँकेमा एक युवकले श्रीमती र दुई वर्षे छोरालाई पेट्रोल छर्किएर लगाइदिए आगो, छोराको मृत्यु, श्रीमती घाइते

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उहाँका दुई वर्षीय छोराको मृत्यु भएको छ भने श्रीमती घाइते हुनुभएको छ ।
हिजो आईतबार बेलुका ५ बजे ३० वर्षीय भानुभक्त विकले आफ्नै श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका विकलाई गएराति १ बजेतिर नै भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ ।
जलेर गम्भीर घाइते हुनुभएका दुई वर्षीय छोरा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीले बताउनुभएको छ । हिजो साँझ पाँच बजे गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएको जनाइएको छ । उक्त आगोले छोराको कम्मरभन्दा माथिको भाग जलेको थियो भने श्रीमती गंगाको घाँटी, हात, कान लगायतका भाग जलेको छ । गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट आमा र छोरा दुवैलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए ।त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.