मितिः २०८१, १ असार शुक्रबार

चितवनको राप्ती नगरपालिकाले विपन्न परिवारलाई पाँच सय घर बनाइदिने

चितवनको राप्ती नगरपालिकाले विपन्न परिवारका समुदायलाई लक्षित गर्दै पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो ।
हरेक वर्ष एक सय घर बनाउने योजनासहित काम भइरहेको छ । पहिलो वर्षका लागि यस कार्यक्रममा रू एक करोड विनियोजन भएको नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो । हिउँदे अधिवेशनमा यसको बजेट बढाइएको छ । ।”
यस वर्षमा निर्माण गरिने भनिएका घरहरूमध्ये मङ्सिर मसान्तसम्म ३२ वटा घरको निर्माण सम्पन्न भई रकम भुक्तानीसमेत भइसकेको लामाको भनाई छ । हाल आठवटा घर निर्माणको क्रममा छन् । घर निर्माणका लागि नगरपालिकाले प्रतिघर रू दुई लाख विनियोजना गरेको छ । निर्माणका लागि रू दुई लाख १५ हजारदेखि रू दुई लाख २५ हजारसम्म लाग्ने अनुमान गरिएको छ । अन्य रकम घरधनीले श्रमदान गर्नुपर्ने बताइएको छ ।
जग्गा भएर पनि घर निर्माण गर्न नसकेका विपन्न परिवारका लागि नगरपालिकाले वडाको सिफारिस र स्थलगत अनुगमनपछि घर निर्माणको काम अगाडि बढाउने गरेको छ । नगरपालिकाभित्र रहेका १३ वटा वडामध्ये वडा नं १०, ११, १२ र १३ मा यस्ता परिवार धेरै रहेका छन् । घर दुईकोठे जस्ताको छानो भएको हुनेछ ।
जग्गा भएर पनि घर बनाउन नसकेकाहरूका लागि स्थानीय सरकार छ भन्ने आभास दिलाउनका लागि घर बनाउने काम सुरु गरेको लामाको भनाई छ । पालिकामा चेपाङ, तामाङ समुदायको बसोबास बाक्लो छ । राज्यको दायित्वभित्र गाँस, बास र कपास पर्ने भन्दै लामाले सुरुआती चरणमा बासको व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.