मितिः २०८१, ५ असार मंगलवार

सविता भण्डारी मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका ससुरा, श्रीमान्, र अमाजूले पाए सफाइ

अभियोग दाबी नपुगेपछि सविता भण्डारी (धिताल) मृत्यु घटनाका तीन जना प्रतिवादीले सफाइ पाएका छन् । आत्महत्या दुरुत्साहन अभियोगमा मुछिएका मृतक भण्डारीका ससुरा, श्रीमान्, अमाजूले गत माघ ४ गते जिल्ला अदालत चितवनबाट सफाइ पाएका हुन् ।
मुद्दा दर्ता भएको एक वर्ष आठ महिनामा अदालतका न्यायाधीश मातृका आचार्यको इजलासले अभियोगबाट सबै आरोपितले सफाइ पाउने फैसला सुनाएको हो । विसं २०७८ वैशाख ४ गते दिउँसोको करिब ५ बजे सविता आफ्नै कोठाको झ्यालमा रहेको ग्रीलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो ।
मृत्यु हुनुभन्दा अघिल्लो दिन (वैशाख ३ गते) सविता र योगेन्द्रले सातौँ विवाह वर्षगाँठ मनाउनु भएको थियो । त्यसको भोलिपल्ट नै सविता झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । घटना घटेको नवौँ दिनमा मृतक सविताको माइतीतर्फका बुबा रामचन्द्र भण्डारीले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिनुभएको थियो ।
मृतक सवितालाई मानसिक, शारीरिक तनाव यातना र यौन हिंसा गरी मर्न बाध्य बनाएको भनी आत्महत्या दुरूत्साहनअन्र्तगत मुद्दा दर्ता भएको चितवन अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो । सवितालाई ‘श्रीमान् योगेन्द्र धिताल, ससुरा रमेश धिताल र अमाजू भावना धितालले मानसिक र शारीरिक तनाव र यातना दिएको जाहेरी परेको थियो । ससुरा रमेशले यौन हिंसा गरेका कारण मर्न बाध्य भएको आरोप समेत लागेको थियो । आरोपित ससुराको भने २०७८ असोज ४ गते मृत्यु भइसकेको छ ।

यस घटना भएको ४२ औँ दिन अर्थात् २०७८ जेठ १४ गते भएको आदेशअनुसार श्रीमान् र ससुरालाई जनही एक लाख रुपैयाँ धरौटी माग गरेपछि उहाँहरु दुवैजना धरौटी राखेर तारेखमा छुट्नुभएको थियो भने अमाजू पनि जेठ १९ गते २५ हजार रुपैयाँ धरौटी राखेर छुट्नुभएको थियो ।
आरोपित तीनै जनाले बयानमा सविताको मृत्युमा आफूहरुको कुनै भूमिका नरहेको बताएका छन् । उनीहरुका अनुसार सविताले नियमित डिप्रेसनको औषधि खाने र चितवन मेडिकल कलेजमा उहाँको नियमित स्वास्थ्य जाँचसमेत हुँदै आएको थियो । सवितालाई कुनै प्रकारको मानसिक तनाव र शारीरिक यातना नदिएको बयानमा बताइएको थियो । यौन हिंसाको आरोप लागेका ससुरा रमेशले पनि बयानमा छोरीजस्तै गरी ममता दिएको र आफू असक्त रहेकाले यौन हिंसा गर्न नसक्ने उल्लेख छ । अमाजू भावनाले पनि आफूमाथिको आरोप झूटो भएको बयान दिनुभएको थियो ।
मुलुकी अपराधसंहिता, २०७४ को दफा १८५ को उपदफा १ बमोजिमको कसुर अपराध गरेको भनी अभियोगपत्रमा उल्लेख छ । उनीहरुविरूद्ध पाँच वर्षसम्मको कैद सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गरे पनि अन्ततः आरोपितहरुले अभियोगबाट सफाइ पाएका छन् । उक्त फैसलामा चित्त नबुझे उजुरीकर्ताले पुनरावेदन फैसला भएको ७० दिन भित्र उच्च अदालत हेटौँडामा पूर्नआवेदन दिनसक्ने अदालतले जनाएको छ ।
काठमाडौँ कोटेश्वरकी २८ वर्षीय सविता र चितवन भरतपुर महानगरपालिका–१९, शारदानगर बखानचोक घर भएका ३९ वर्षीय योगेन्द्र धितालबीच २०७१ साल वैशाख ३ गते विवाह भएको थियो । विवाहपछि श्रीमान्–श्रीमती नै विदेश गएर केही वर्षअघि फर्किनुभएको थियो । उहाँहरुको एक सन्तान (छोरा) हुनुहुन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.