मितिः २०८१, ५ असार मंगलवार

चितवनमा उपनिर्वाचन चैतपछि मात्र हुने

चितवन क्षेत्र नम्बर २ मा चैतपछि मात्रै उपनिर्वाचन हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवनमा उपनिर्वाचन सम्भव नहुने बताउनुभएको हो ।
उहाँका अनुसार मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुनेछ । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने थपलियाको भनाई छ ।
नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने र त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्नेछ ।
आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको जनाइएको छ । राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी छ ।
आयुक्त थपलियाले राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको बताउँदै उहाँले छिटोमा आगामी चैत मसान्तपछि मात्र गर्न सकिने बताउनुभयो । गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचित हुनुभएको थियो ।
लामिछानेले ४९ हजार तीनसय मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार नौसय ८८ मत र तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ६२ मत पाउनुभएको थियो ।
अमेरिकाको नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर पहिलेकै नागरिकता कायम गर्न त्रुटिका कारण लामिछानेले उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापति पद गुमाउनुपरेको थियो । नागरिकता प्राप्तिपछि पुनः गृहमन्त्रीमा जान चाहेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त नगरेपछि उहाँको दल सरकारलाई दिएको विश्वासको मत कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.