मितिः २०८१, १० जेष्ठ बिहीबार

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक आजको लागि स्थगित भएको छ । आज बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।
नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेकाहरूलाई रिहाइ गर्नुपर्ने माग गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले आफूहरूका माग पूरा नभएसम्म सरकारमा नजाने पनि बताइरहेको छ ।
५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्तिले विश्वासको मत नदिँदा मुख्यमन्त्री रावल अल्पमतमा पर्ने निश्चित छ ।
माओवादी, एमाले, नागरिक उन्मुक्ति र राप्रपाका गरी २९ जना सांसदको समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका रावलले बिहीबारभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ । बिहीबारभित्र विश्वासको मत लिन नसके उहाँ स्वतः पदमुक्त हुनुहुनेछ ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना प्रदेश सभा सदस्य रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.