मितिः २०८१, १ असार शुक्रबार

भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा विदेशबाट गुलाब फूल ल्याउन प्रतिबन्ध

सरकारले विदेशबाट गुलाबको फूल ल्याउन प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे’नजिकिँदै गर्दा सरकारले नेपाल, भारत तथा चीन सीमाका १५ भन्सार कार्यालयका कार्यालयहरूलाई पत्राचार गर्दै गुलाबको फूल आयातमा रोक लगाएको हो ।
कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एक सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
फूलसँगै रोगका किरा वा जीवाणु आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताउनुभयो । अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको उहाँको भनाई छ ।
केन्द्रले काँकडभिट्टा, भण्टावारी, विराटनगर, मलङ्गवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एअरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ र बैतडीमा कार्यालयलाई गुलाबको आयात अनुमति नदिन पत्र पठाएको छ । अहिले गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि सर्तसहित खुला गरिने जनाइएको छ ।
‘भ्यालेन्टाइन डे’ आसपासमा नेपालमा झन्डै तीन लाख पिस (स्टिक) गुलाबको फूलको खपत हुने गरेको भएपनि नेपालमा भने झन्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने गरेको छ । बाँकी दुई लाख ८० हजार पीस विदेशबाटै आयातको भर पर्नुपर्ने बाध्यता छ । अब सरकारले गुलाफ फूलमा प्रतिबन्ध लगाएसँगै बजारमा फूल अभाव हुने भएको छ । भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार छसय १२ किलो गुलाबको फूल आयात गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.