मितिः २०८१, ५ असार मंगलवार

भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्यो

भरतपुर अस्पतालमा पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै गएको छ । अस्पतालमा सेवा, सुविधा र उपकरण पनि थपिँदै गएका छन् ।सोही कारण उक्त अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ ।
एकैवर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट उक्र अस्पतालमा बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।
बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बताउनुभएको छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा (जिओपिडी) सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ ।

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर)को संख्या छ वटाबाट बढाएर सात बनाइएको छ । तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।
सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । सरसफाइमा स्थानीय सामाजिक अभियान्तसमेत जोडिने गरेका छन् । ‘ट्रमा इमर्जेन्सी’ सुरु गरिएको छ ।अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सी ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको मेसु डा पौडेलको भनाई छ ।
नयाँ भवनमा प्रयोगशाला, माइनर ओटी (सामान्य शल्यक्रिया), एक्सरे, काउन्टर, फार्मेसीलगायतका सुविधा रहेका ५० शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिएको छ । आकस्मिक कक्षमा आएका बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध गराएको बताइको छ ।
प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ । हाल प्रसूति विभागमा ठूलो संख्यामा भर्ना र डिस्चार्ज हुने भएकाले सोही विभागमा छुट्टै काउन्टर सञ्चालन गरिएको छ ।

कोभिड महामारीको समयमा सघन उपचारकक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचारकक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचारकक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको छ । आठ शय्याको पिआइसीयू र एनआइसीयूलाई १० बाट बढाएर १८ बनाइँदै छ ।
दुई वर्षअघि पक्षी प्रयोगशालामा सुरु गरिएको पिसीआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ । टिकट काउन्टरको भीड कम गर्न काउन्टर संख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । तर, अनलाइनप्रति चासो भने कम भएको बताइएको छ ।
सरकारले आठवटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट अस्पतालले प्रदान गर्दै आएको छ । यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ ।
सेवालाई अझै गुणस्तरीय बनाउन क्युए (क्वालिटी एस्योरेन्स कमिटी र ड्युटी अफिसर)को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ ।

चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेट्ने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ ।
बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरिएको छ । फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ । दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी सेवा पुन पनिः नियमित सञ्चालनमा ल्याइएको छ ।
अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण थालिएको छ । फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठवटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको थियो । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप बार्ड बनाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शय्यामध्ये एक सय ५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ । संगठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारीमात्रै कार्यरत छन् । तीमध्ये ४६ चिकित्सक छन् ।
सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको जनाइएको छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमी–कमजोरी देखिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बताउनुभएको छ । ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन सकिने उहाँको भनाई छ । यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पताल हो ।
रु छ करोड हाराहारी लागतमा पानी ट्याङ्की र रु १६ करोड हाराहारीको आवास (क्वाटर) समितिले नै निर्माण गर्ने तयारीमा छ । अस्पतालमा एनेस्थेसियोलोजिष्ट र शल्यक्रिया कक्षको अभाव हुँदा शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीले सात महिनासम्म पालो कुर्नुपरेको छ । बिरामीको चापअनुसार कर्मचारी र आवश्यक उपकरण नहुँदा बिरामीले दुःख अहिले पनि पाइरहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.