मितिः २०८१, १ असार शुक्रबार

दाङमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई घाइते, एकको अवस्था गम्भिर

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आउनभएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने क्रममा सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।
दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ । आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.