मितिः २०८१, १ असार शुक्रबार

म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । बजार अनुगमन टोलीले बजार निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले हिजो बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब तीन सय ५५ कार्टुन नियन्त्रणमा लिएको छ । उक्त ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको र गोदाम शिलबन्दी पनि गरिएको छ ।

सिनामंगलमै रहेको सीके ट्रेडिङ प्रालिको गोदाममा पनि सुरक्षित उपभोग्य अवधि सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्गका करिब तीनसय दुई कार्टुन बियर फेला परेको छ । उक्त गोदाममा करिब आठ लाख ७५ हजार मूल्यको म्याद नाघेको बियर भेटिएको विभागले जनाएको छ । उक्त गोदामलाई पनि शिलबन्दी गरिएको छ । दुई वटा गोदामबाट शिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार पर्ने देखिएको विभागका सहायक सूचना अधिकारी कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

त्यसअघि, विभागको अनुगमन टोलीले मंगलबार याक ब्रुअरी कम्पनीद्धारा उत्पादित बाह्रसिङ्गे ब्राण्डका गोदाममा अनुगमन गरेको थियो । धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको तीनवटा गोदाममा अनुगमन गर्दा सुरक्षित उपभोग्य अवधि सकिएको २१ सय कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो । दुई आकार छसय ५० मिलि र तीनसय ३० मिलिलिटर बोत्तलमा रहेका २१ सय कार्टुन बियरको मूल्य करिब ६० लाख रुपैयाँ पर्ने देखिएको उहाँको भनाई छ । निरीक्षण टोलीले आवश्यक कारबाहीका लागि शिलबन्दी गरेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.