विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण लगातार दुई वर्षसम्म रोकिएको खिचरा महोत्सव यस वर्ष भने आयोजना हुने भएको छ ।
यस वर्ष अवस्था सहज भएपछि थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ को आयोजनामा महोत्सवको आठौं संस्करण हुन लागको हो । वि.सं. २०७० सालदेखी पूर्वी चितवनको खैरहनीमा यो महोत्सव हुदै आएको छ ।
आयोजकले आज शनिबार खैरहनी ५ स्थित थारु संग्राहलयमा पत्रकार सम्मेलन गर्दै पुसको अन्तिम सातादेखी महोत्सव हुन लागेको जनाएको छ । थारु कल्याणकारीणी सभाले थारु समुदायको नयाँ वर्षको अवसर पारेर महोत्सव गर्ने गरेको छ । पुस २९ गतेदेखी माघ ९ गते सम्म जवकौली स्थित गौचरनमा महोत्सव हुनेछ ।
थारु समुदायको संस्कृति ,खानाका परिकारको संरक्षण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल समारोह समितिले जनाएको छ । थारु समुदायको नयाँ वर्षलाई लक्षित गर्दै महोत्सव हुन लागेको बताइएको छ । उक्त महोत्सवले थारु समुदायको संस्कृति संरक्षण हुनुका साथै युवा पुस्तालाई आफ्नो संस्कृतिको महत्व बुझाउँदै संरक्षणका जिम्मेवार बन्न मद्यत गर्नेछ ।
पर्यापर्यटन, विविध भाषा, जातजाति, संस्कृतिको संरक्षण मार्फत आन्तरीक पर्यटन तथा व्यापार व्यवसायको प्रवद्र्धन गर्ने, थारु संग्राहलय तथा अनुसन्धान केन्द्र व्यवस्थापन र संचालन गर्न, कृषि उपजलाई प्रोत्साहन गर्न, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ती अक्षय कोषमा टेवा पुर्याउन, एक आपसमा आपसी सद्भाव, भाईचारा बढाउने उद्देश्यका साथ महोत्सव हुन लागेको हो ।
उक्त महोत्सवमा थारु लगायत अन्य समुदायको परम्परागत भेषभुषा सहितको संस्कृति प्रर्दशन हुने, थारु विषेश खानाका स्टल राखिने, खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने, हस्तकलाका सामाग्री र व्यवसायिक स्टल रहनुका साथै तराईका विभिन्न जिल्लाका थारु विषेश सास्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा एकसय २० वटा स्टल रहनुका साथै करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको महोत्सवका प्रवक्ता एवं थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का निवर्तमान सभापति नारायण महतोले जानकारी दिनुभयो ।
थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ का सभापति चुडामणी चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा जिल्ला सभापति ललितकुमार चौधरी, थारु वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।