पाँच वर्षपछि आज आइतबार नारायणगढमा नेपथ्य व्याण्डले ‘लाइभ कन्सर्ट’ गर्ने भएको छ । पाँच वर्षको अन्तरालमा आज नारायणगढको क्याम्पाचौरमा नेपथ्य व्याण्डले लाइभ कन्सर्ट गर्न लागेको हो । यसअघि नेपथ्य व्याण्डले २०७४ साल माघ १ गते नारायणी नदीकिनारमा लाइभ कन्सर्ट गरेको थियो । चितवनमा नेपथ्यको यो आठौँ प्रस्तुति हो ।
‘मानवताको लागि साङ्गीतिक यात्रा’ लिएर नेपथ्यका गायक अमृत गुरूङले क्याम्पाचौरमा आज साँझ छ हजारभन्दा बढी दर्शकलाई नचाउने बताइएको छ । ।
एक दशकदेखि सडकपेटी एवम् सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रम चितवनले नेपथ्य व्याण्डलाई चितवन ल्याएको हो । नेपथ्यले क्याम्पाचौरमा पहिलोपटक प्रस्तुति दिन लागेको हो ।

मानवसेवा आश्रम चितवनले बेलचोकमा रहेको आफ्नो भवनमा हिजो शनिबार नेपथ्य व्याण्डसँग चियापान कार्यक्रम गरेको थियो क्याप्पाचौरमा हुने भनिएको उक्त कन्सर्टको सम्पूर्ण तयारी पूरा भइसकेको मानवसेवा आश्रमले जनाएको छ । सम्मानसहितको कार्यक्रममा मानवताले भरिएका चितवनवासीको कञ्चन मनहरुको साथ, सहयोग र वचनले कन्सर्ट सफलतापूर्वक सम्पन्न हुने अपेक्षा राखेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि गायक अमृत गुरूङले नेपथ्यको ३० वर्षको दौरानमा सबैभन्दा बढी कार्यक्रम चितवनमा भएको बताउँदै उहाँले चितवनवासी मनकारी र करूणैकरूणाले भरिएको बताउनुभयो । उहाँले सहारा नपाएकालाई, अशक्तलाई, सहयोगापेक्षी मानव मनहरुलाई खुसी राख्न र बाँचुञ्जेल परोपकारी काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

गायक गुरूङ हिजो शनिबार बिहान भरतपुरबाट शारदानगरसम्म पैदलमार्फत गाउँहरुको अवलोकन गनुभएको थियो । अवलोकनपछि उहाँले चितवनका ती गाउँ अनि मनहरु सफा, सुन्दर भएको बताउनुभयो ।
क्याम्पाचौरको कार्यक्रमको अभिभावकत्व महानगरले गर्ने बताइएको छ । कन्सर्टलाई भव्यरुपमा सम्पन्न गर्न महानगरपालिका आफ्नो तवरबाट मन, वचन र कर्मले लाग्ने भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले गायक अमृतलाई पहिलोपटक पहिलोपटक देख्न र भेट्न पाएको बताउनुभयो ।
आश्रम र यसले गरेका जुनकुनै कार्यक्रमलाई महानगरले आर्थिक, भौतिकलगायतका सबैप्रकारका सहयोग रहने प्रमुख दाहालको भनाई छ । बेलचोकमा रहेको आश्रमको भवन बनाउन महानगरले एक करोड रूपैयाँ सहयोग गरेको र थप आवश्यक परेको खण्डमा सहयोगलाई निरन्तर बढाउन सकिने जनाइएको छ ।
उक्त कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले मानवताको लागि साङ्गीतिक यात्रामा सहभागी हुन आग्रह गर्नुभएको छ । कन्सर्टमा सुरक्षा व्यवस्था मजबुद बनाउन पर्याप्तमात्रामा सुरक्षाकर्मीहरु खटिने चितवन प्रहरी प्रमुख नवराज अधिकारीको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सम्पूर्ण व्यवसायीलाई मानवताको लागि कन्सर्टमा सहभागी भइदिन अनुरोध गर्नुभएको थियो । समाजसेवी प्रभावकुमार जोशी, लाइफ कन्सर्टका चितवन संयोजक ओमकार कँडेल, व्यूटीफुल माइन्डका डा गिरिराज भन्तनालगायतले मानवसेवामा लाग्न सबैमा आग्रह गरेका थिए ।
कार्यक्रममा मानवसेवा आश्रममा स्वयम्सेवीको भूमिका गर्नेदेखि आश्रममा सहयोग पु¥याउनेहरुलाई गायक अमृत गुरूङको हातबाट सम्मान गरिएको थियो । मानवसेवा आश्रमले आजीवन वार्षिक भोजन सेवा पनि प्रारम्भ गरेको छ । वार्षिक भोजन सेवामा चितवनका सात जनाले आफ्नो नाम दर्ता गरिसकेका छन् ।
कन्सर्टबाट संकलन भएको रकम मानवसेवा आश्रमको दिगो व्यवस्थापनको लागि अक्षयकोष निर्माण गरिनेछ । चितवनको कन्सर्टबाट दुई करोड रूपैयाँ बचत गर्ने र यहीँको मानवसेवा आश्रमको लागि अक्षयकोष बनाउने लक्ष्य छ ।

सरकारले नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ, त्यसको लागि मानवसेवा आश्रमले काम गरिरहेको छ । हेटौँडाबाट सुरू भएको मानवसेवा आश्रमको हाल देशभर २३ वटा शाखा छन् । १९ जिल्लामा १५ वटा शाखाका भवन निर्माण भइरहेका छन् । हाल देशभर झन्डै १६ सय जना बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त भएकाहरु आश्रमको संरक्षणमा छन् ।
कन्सर्टको रू एक हजारको टिकट अनलाइनमार्फत् लिन सकिन्छ । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजीमार्फत सोझै काट्न सकिन्छ । नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । कन्सर्ट हुनुअघि क्याम्पाचौरमा पनि टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार