मितिः २०८१, ७ चैत्र शुक्रबार

चितवनबाट यि तीन दलले मात्रै पाए समानुपातिकमा सांसद

संजय दुवाडी
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सफल सात दलमध्ये चितवनबाट तीन दलले मात्रै समानुपातिक सांसद् पाएका छन् ।

देशभरमा समानुपातिकमा दोस्रो पार्टी बन्न सफल नेपाली कांग्रेसबाट दुई जना र नेकपा माओवादी केन्द्रबाट तीन जनाले मात्रै सांसद् पाएका हुन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेस र माओवादीले सांसद् पाउँदै गर्दा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सांसद् पाउन सकेनन् ।
कांग्रेसबाट समानुपातिकमार्फत संघीय संसद्मा प्रवेश गर्नेमा शान्ति विक परियार र अञ्जनी श्रेष्ठ छन् । भरतपुर–१२ घर भएकी शान्ति र भरतपुर–७ घर भएकी अञ्जनीले समानुपातिकबाट संसद् प्रवेश गर्ने मौका पाएको बताइएको छ ।

उहाँहरु दुवैजना पार्टीमा हाल केन्द्रीय सदस्य हुनुहुन्छ । दलित मुक्ति अभियानमा सक्रिय विक हाल नेपाल दलित संघ चितवनकी अध्यक्षसमेत हुनुहुन्छ । संविधानसभा सदस्यसमेत रहनुभएकी अञ्जनी भने बागमती प्रदेशका बहालवाला मन्त्री मिलनबाबु श्रेष्ठकी पत्नी हुनुहुन्छ । उहाँ विद्यार्थी राजनीतिबाट पार्टीमा लाग्नुभएको हो । सांसद् बनेका दुवैजना नेतृ पार्टी सभापति शेरबहादुर देउवानिकटका मानिन्छन् ।
संघीय संसद्मा दोस्रो दल बन्न सफल नेकपा एमालेबाट भने पार्टी उपाध्यक्ष रामबहादुर थापा (बादल) पत्नी नैनकला थापा सांसद् बन्नुभएको छ । तर, उहाँलाई पार्टीको केन्द्रीय समितिले रुपन्देहीबाट सांसद् बनेको बताएको छ । चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले भने चितवन जिल्लाबाट सिफारिस भएकोले चितवन जिल्लाकै सांसद् भएको दाबी गर्नुभएको छ ।
भरतपुर महानगरपालिका वडा नं–१० घर भएकी थापा हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ । विशेष गरी उहाँको राजनीतिक पृष्ठभूमि भने नेकपा माओवादी केन्द्र हो । माओवादी र एमाले समीकरण भएर बनेको नेकपापछि पार्टी पुरानै ठाउँमा आए पनि थापा परिवार भने माओवादीमा नफर्की एमालेमा बसेका थिए ।
संघमा तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रबाट भने तीन जना समानुपातिक सांसद् बनेका छन् । पार्टीको पोलिटब्युरो सदस्य ज्ञानु बस्नेत सुवेदी, केन्द्रीय सदस्य रणेन्द्र बराली र अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष कल्पना मियाँ सांसद् बनेका हुन् ।

माओवादी केन्द्रबाट समानुपातिक सांसद् बन्नुभएकी नेतृ सुवेदी पार्टीमा सबैभन्दा पुरानो नेतृ भएको पार्टीको चितवन जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी (आरसी)ले जानकारी दिनुभयो । जाजरकोट माइत भई हाल भरतपुर–१५, फूलबारी घर भएकी सुवेदी माओवादी नेता सूर्य सुवेदी (पथिक)की श्रीमती र मन्त्रीसमेत भइसक्नुभएका माओवादी नेता शक्ति बस्नेतकी बहिनी हुनुहुन्छ ।करिब २०५५÷५६ सालदेखि नै पार्टीमा लाग्नुभएकी उहाँ २०६२÷०६३ सालमा धादिङमा पार्टी इन्चार्ज भएर काम गर्नुभएको थियो ।
त्यस्तै, सर्वहारा श्रमिक संगठनबाट रानजीतिमा प्रवेश गर्नुभएका पुराना नेता रणेन्द्र बराली पनि यसपटक चितवनबाट प्रतिनिधिसभामा सांसद् बन्नुभएको छ । उमेरले प्रचण्ड समूहकै व्यक्ति बराली हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय उहाँ दलित क्लस्टरबाट सांसद् बन्नुभएको हो । त्यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष कल्पना मियाँ भने राजनीतिक यात्राको सुरूवाती चरणमै सांसद् बन्न सफल हुनुभएको छ ।
रूकुम पश्चिम घर भए पनि चितवनको रत्ननगर माइती भएकी कल्पना मुस्लिम महिला तथा पिछडा वर्गबाट चितवनको प्रतिनिधित्व गर्दै संघीय सांसद् बन्नुभएको हो । चितवनबाट सांसद् बन्नेमा कांग्रेसकी अञ्जनी श्रेष्ठबाहेक सबै नयाँ अनुहार हुन् ।
त्यस्तै प्रदेशमा पनि चितवनबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका तीन दलबाट पाँच जना सांसद बनेका छन् । जसमा नेपाली कांग्रेसबाट विनु रायमाझी पौडेल, गीता गुरूङ र माया श्रेष्ठ सांसद् बन्नुभएको छ । भरतपुर–१० की विनु र भरतपुर–२६ की गीता दुवै महाधिवेशन प्रतिनिधि हुनुहुन्छ भने भरतपुर–३ की माया क्षेत्रीय प्रतिनिधि हुनुहुन्छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलबाट राजनीतिक यात्रा सुरू गर्नुभएकी विनु तरूण दलका तत्कालीन अध्यक्ष स्वर्गीय शिव पौडेलकी पत्नी हुनुहुन्छ ।

गीता गुरूङ पनि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय योद्धाको रुपमा परिचित हुनुहुन्छ । उहाँ पटकपटक महाधिवेशन प्रतिनिधि हुँदै पहिलोपटक संसद् प्रवेश गर्नुभएकी नेतृका रुपमा चिनिनुहुन्छ । कांग्रेसको राजनीतिक यात्रा र आन्दोलनमा विशेष भूमिकामा देखिनुभएकी माया श्रेष्ठले पनि पहिलोपटक सांसद् बन्ने मौका पाउनुभएको हो ।
त्यस्तै नेकपा एमालेबाट केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिप्रसाद सापकोटा सांसद् बन्ने मौका पाउनुभएको हो । भरतपुर–६ घर भएका सापकोटा माधवकुमार नेपाल महासचिव हुँदा चितवन जिल्लामा सचिव भएर पार्टी नेतृत्व सम्हाल्नुभएको थियो । त्यतिखेर केन्द्रमा महासचिव र जिल्लामा सचिव नै पार्टी प्रमुख हुने प्रावधान थियो । हाल पार्टीको केन्द्रीय समितिमा अनुशासन आयोगको सचिव रहनुभएका सापकोटा नेकपा कालमा केन्द्रीय सदस्य रहनुभएको थियो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट ईश्वर सापकोटा (सुमन) सांसद् बन्नुभएको छ । जनयुद्धमा प्रत्यक्ष सहभागी भई युद्धकै क्रममा आँखा गुमाएका सापकोटा हाल पार्टीको भरतपुर महानगरपालिका अध्यक्ष हुनुहुन्छ । नेता सापकोटा विसं २०५६ सालदेखि नै पार्टीमा सक्रिय भएको माओवादी केन्द्र चितवनले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेशमा पनि चितवनबाट सांसद् पाएनन् । रास्वपाको कुनै पनि प्रदेशमा उमेदवार नभएकोले प्रदेश सांसद् नपाएको बुझिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.