मितिः २०८१, २६ भाद्र बुधबार

फोटो पत्रकार महासंघ चितवनले खुलायो सदस्यता

फोटो पत्रकारहरुको छाता सङ्गठन नेपाल फोटो पत्रकार महासंघ चितवन शाखाले सदस्यता आह्वान गरेको छ । हिजो आईतबार बसेको जिल्ला शाखाको बैठकले उक्त सदस्यता खुला गरेको हो ।
पुस १५ गतेसम्म सदस्यता खुला गरिएको संघले जनाएको छ । जिल्लामा रहेर पत्रकारिता गर्दै गरेका र फोटो पत्रकारिमा इच्छुक पत्रकारहरुले सदस्यता लिन सक्नेछन् ।
फोटो पत्रकार महासंघको सदस्यता लिनका लागि शैक्षिक योग्यताको प्रमाणपत्रसहित कार्यरत संस्थाको परिचयपत्र तथा सिफारिस पेस गर्नुपर्ने बताइएको छ । फोटो पत्रकार महासंघको सदस्यता अनलाइनबाट समेत भर्न सकिने जनाइएको छ ।
त्यसै उक्त शाखाले फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि अब आउँदो माघको पहिलो साता आधारभूत फोटो पत्रकारिता तालिम गर्ने जनाइएको छ । स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई लक्षित गर्दै फोटो पत्रकारिता तालिम सञ्चालन गर्न लागिएको हो । उक्त तालिममा महिला र पुरुष गरी २० जना सहभागी गराइने बताइएको छ ।
यसैबीच, चितवनबाट नेपाल फोटो पत्रकार महासंघको केन्द्रमा प्रतिनिधित्व गर्ने सचिव कोमलचन्द्र भगत तथा सदस्यहरु बद्री प्रसाद अर्याल र प्रविन बराललाई जिल्लामा सम्मान समेत गरिएको छ । चितवनको सौराहामा भएको राष्ट्रिय महाधिवेशनबाट उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । हिजो भएको कार्यक्रममा मन्तव्य राख्दै केन्द्रीय सचिव भगतले चितवनमा रहेर पत्रकारिता गर्दै आएका फोटो पत्रकारितमा रुची भएका व्यक्तिहरु सबैलाई सदस्यता लिनका लागि आग्रह समेत गर्नुभएको थियो ।