यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा÷सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा÷तापक्रमलाई जनाउँदछ ।
यसैगरी सरदर भन्दा कम वर्षा÷तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा÷तापक्रमलाई जनाउँदछ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त विभागले हिउँद अवधि –गत मङ्सिर १५ देखि अब आउँदो फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
विभागका अनुसार हिउँदमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरीलगायतका पूर्वी तथा तराईका जिल्ला, मधेश प्रदेशका पर्सा, बारा, रौतहटलगायतका पश्चिमी भू–भाग, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर लगायतका जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वतलगायतकामध्य तथा दक्षिणी जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कञ्चनपुर र कैलाली लगायतका जिल्लामा सरदर भन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्ला तथा कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पाको उत्तर–पश्चिमी भू–भाग बाहेक देशका अन्य बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यसैगरी यस हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको बताइएको छ । कर्णाली प्रदेशको हुम्ला र मुगुका पश्चिमी भू–भाग र सुदूपश्चिम प्रदेशका बाजुरा जिल्लामा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको तथ्याङ्क छ ।
प्रदेश नं १ का सोलुखुम्बु तथा इलाम, झापा, मोरङ र सुनसरी लगायतका दक्षिणी जिल्ला, वाग्मती प्रदेशका काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, चितवन लगायतका मध्य तथा दक्षिण–पश्चिम जिल्ला, मधेश प्रदेशको पर्सा र सप्तरी, गण्डकी प्रदेशका उत्तर–पुर्वी जिल्ला बाहेकका अधिकांश जिल्ला, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग र कर्णाली प्रदेशका पूर्वी तथा उत्तरी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्यूठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखा लगायतकामध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बुलगायताका उत्तरी जिल्लामा न्यूनतम् तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भू–भागमा सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।