निर्वाचन भएको करिब तीन सातापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले आज वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । भोली बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र अब आउँदो पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिनुभयो । उक्त प्र्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँचसय ५० जना गरी कूल आठसय २५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष एकसय ८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभातर्फ पुरुष तीन सय ५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये एककरोड चारलाख ८७ हजार नौसय ५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एककरोड ११ लाख २६ हजार दुईसय २६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा एककरोड पाँचलाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एककरोड १० लाख ३४ हजार पाँचसय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये एककरोड पाँचलाख ८५ हजार तीनसय मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एककरोड १० लाख २८ हजार तीनसय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा एककरोड तीनलाख छ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जनाइएको छ ।

प्रतिनिधि सभातर्फ पुरुष एक हजार सातसय ७२ र महिला एकसय ८९ गरी जम्मा एकहजार नौसय ६१ जना तथा प्रदेश सभातर्फ पुरुष दुईहजार ८६, महिला दुईसय ३७ र अन्य एक गरी जम्मा दुईहजार तीनसय २४ जना गरी जम्मा चारहजार दुईसय ८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।
निर्वाचनबाट सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ । उक्त निर्वाचन गत मंसिर ४मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार