मितिः २०८१, २० आश्विन आईतवार

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, ५१ हजार पाँचसय २२ जनाले पाए १० कित्ता

बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निस्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निस्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आज आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निस्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार पाँचसय २२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले कुल सात लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि दुईलाख ५० हजार कित्ता सेयर छुट्याएको थियो । तर, एक लाख चारहजार कित्ता सेयरमा निवेदन परेन ।

उक्त सेयर समेत थप गरी कम्पनीले कुल पाँचलाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको पाँचलाख १५ हजार दुईसय २० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५१ हजार पाँचसय २२ जनमाले १० कित्ताका दरले सेयर पाएका हुन् ।
उक्त आईपीओमा आवेदन दिएकामध्ये ११ लाख ९१ हजार दुईसय ८४ आवेदनमार्फत एककरोड ३० लाख ७८ हजार एकसय कित्ताको लागि योग्य आवेदन प्राप्त भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले आईपी निस्काशनको लागि मंसिर २१ देखि २६ मंसिरसम्म आवेदन माग गरेको थियो । बाराही हाइड्रोपावर कम्पनीले बाग्लुङमा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो ।