चितवनको होटल व्यवसायी संघ र होटल तथा रेस्टुरेन्ट व्यवसायी संघबीच हिजो आइतबार एकता भएको छ । उद्योग वाणिज्य संघ–चितवनको पहलमा होटल व्यवसायीका उक्त दुई संगठनबीच एकता भएको हो । होटल व्यवसायी संघ चार वर्षअघि फुटेको थियो । असन्तुष्ट समूहले होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ स्थापना गरेका थिए । दुवै संघको कार्यसमिति भङ्ग गरेर २९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
होटल व्यवसायी संघको तदर्थ समितिको अध्यक्षमा केशव हड्खोले चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा साबिक होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका कार्यवाहक अध्यक्ष यज्ञबहादुर कार्की, महासचिवमा सुरेन्द्र केसी, सचिवमा भवानी खनाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ चयन हुनुभएको छ ।
तदर्थ समितिअन्तर्गत नौवटा इकाइ समिति छन् । तदर्थ समितिले छ महिनाभित्र संघको अधिवेशन गराउनुपर्ने जिम्मेवारी पाएको छ । होटल व्यवसायी संघ निवर्तमान अध्यक्ष दिलकुमार श्रेष्ठले व्यावसायिक हकहितका लागि व्यवसायीबीच एकता आवश्यकता देखिएको बताउनुभयो । व्यवसायीको क्षमता अभिवृद्धिका लागि पनि व्यावसायिक संगठन बलियो हुनुपर्ने उहाँको भनाई छ । ।
अहिले देशकै अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै व्यवसायीबीच एकता आवश्यक रहेको उद्योग वाणिज्य संघले जनाएको छ । देशको अर्थतन्त्र जोगाउन निजी क्षेत्र एकताबद्ध हुनुपर्ने बताइएको छ । बैंकहरुले अनुचित व्याज लिइरहेकाले यस्तो बेलामा अर्थतन्त्र जोगाउन व्यवसायीबीच एकता गरेर ठूलो कम्पन दिन जरूरी छ ।’
एकतापछि बनेको होटल व्यवसायी संघमा छसय भन्दा बढी व्यवसायी आबद्ध भएको संघले जनाएको छ । उवासंघ चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीको संयोजकत्वमा दुई संघबीच एकता भएको बताइएको छ ।