शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चितवनका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो ।
विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा हिजो आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पु¥याएको हो । ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ । पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको बताइएको छ ।
घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएका जनाइएको छ । स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको छ ।
शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएकाले हो । अब जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्ने छन् ।
धेरैजसो हिंसाको चपेटामा विद्यालय र क्याम्पसका किशोरकिशोरी हुने गरेकाले यो कार्यक्रम प्रभावकारी वन्ने बताइएको छ । जिल्लाका सात पालिकामा तीन सय ३८ सामुदायिक विद्यालय र एक सय ६६ संस्थागत विद्यालय रहेका छन् । तीमध्ये सामुदायिक विद्यालयमा ९६ हजार पाँच सय ८६ र संस्थागत विद्यालयमा ८१ हजार ४८ विद्यार्थी अध्ययनरत रहेका छन् । ठूला विद्यार्थी यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।
साइबर अपराध, यौन हिंसा, लागुऔषधजस्ता अपराध समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोरकिशोरी बढी प्रभावित भए पछि कार्यालयले पाठ्य सामग्री नै तयार पारेको हो । हिजो आइतबार इच्छाकामना गाउँपालिकामा पाठ्यपुस्तक हस्तान्तरणपछि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अपराध बढ्दा विद्यालय शिक्षाबाट त्यसलाई कम गर्न सकिने बताउनुभयो । उहाँले हाल तयार गरिएको पाठ्य सामग्री समाज र देशको सम्पत्ति भएको भन्दै देशभर सन्देश प्रवाह गर्न अनुरोध गर्नुभयो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले भौतिक पूर्वाधारमा जोड दिने कार्यसँगै समाजको चरित्र सुधार्ने काममा पनि लाग्नुपर्ने बताउनुभयो । सबैले हातेमालो गरेर अघि बढेमा समाजमा अपराध रोक्न सकिने भन्दै उहाँले पुस्तक कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
उक्त कार्यक्रममा सर्वशान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासु सिलवाल, त्रिवेणी बराह माविका प्रधानाध्यापक युवराज लामा, महिला अधिकारकर्मी मीना खरेललगायतले बोल्नुभएको थियो ।