मितिः २०८१, २० आश्विन आईतवार

चितवनमा जाडो बढेसँगै बढ्यो इन्फ्लुएन्जाको जोखिम

चितवनमा जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)संक्रमण जोखिम बढेको छ ।
चितवनका मुख्य अस्पतालहरुमा इन्फ्लुएन्जाका बिरामीहरु देखिन थालेसँगै यसको जोखिम बढेको हो । चितवनमा जाडोको मौसम सुरु भएसँगै इन्फ्लुएन्जाको बिरामीहरु फाट्टफुट्ट देखिन थालेको भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँले चितवनमा यसको जोखिम रहेको भन्दै जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा संक्रमण हुने बताउनुभयो ।

विशेष गरी दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेकोले पोसिलो र तालो खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या पनि आउन सक्छन । यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गर्नुपर्छ ।

नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । इन्फ्लुएन्जा संक्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।
चिकित्सकहरुको अनुसार यसबाट बच्न बिरामी भएकमा व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा साबुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्छ ।