मितिः २०८१, २० आश्विन आईतवार

असोजदेखि बढ्यो कक्षा एघार र बाह्रको शुल्क, यसबारे महानगर अनभिज्ञ

गत असोजदेखि नै चितवनका संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को मासिक तथा भर्ना शुल्क वृद्धि गरेका छन् । तर, यस विषयमा भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाल भने अनभिज्ञता प्रकट गरेको छ ।
गत असोजदेखि कक्षा १० सम्ममात्रै २० प्रतिशत शुल्क वृद्धि गर्न अनुमति दिइएको भएपनि कक्षा ११ र १२ को हकमा शुल्क बढाउने अनुमति नदिएको महाशाखाले जनाएको छ । संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को पनि शुल्क बढाउन माग गरेको भएपनि आजको मितिसम्म शुल्क बढाउने अनुमति नदिएको भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
कक्षा ११ र १२ को पनि शुल्क वृद्धि गर्नुपर्ने प्रस्ताव आएपनि अहिलेसम्म कुनै निर्णय नभएको बताइएको छ । बताए । शुल्क वृद्धिको विषयमा थप अध्ययन गर्नुपर्ने भएकोले त्यतिबेला नै शुल्क वृद्धिलाई तत्कालीन समयमा रोकिएको महाशाखाको भनाई छ ।
भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले नर्सरीदेखि कक्षा १० सम्म हाल कायम भएको शुल्कमा २० प्रतिशत शुल्क बढाउने निर्णय गरेको थियो, त्यतिबेला कक्षा ११ र १२ को शुल्कमा कुनै निर्णय नभएको भरतपुर महानगरले जनाएको छ ।
तर, यता भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनले असोजदेखि नै कक्षा ११ र १२ को शुल्क बढेको जनाएको छ । हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले हिसानकै निर्देशनमा कक्षा ११ र १२ को शुल्क गत असोजदेखि नै बढेको बताउनुभयो ।
महानगरले कक्षा १० सम्म २० प्रतिशत शुल्क वृद्धि गरेपछि कक्षा ११ र १२ को हकमा पनि गत असोजदेखि नै २० प्रतिशत शुल्क बढेको उहाँको भनाई छ । शुल्क वृद्धिबारे महानगरको शैक्षिक प्रशासन महाशाखालाई जानकारी गराएको बताइएको छ ।
कक्षा १० सम्म शुल्क वृद्धि भएपछि स्वतः कक्षा ११ र १२ को शुल्क पनि बढाउनुपर्ने अवस्था आएकाले हिसानले संयोजन गरेर नै शुल्क वृद्धि गरिएको बताइएको छ ।
कक्षा ११ र १२ को शुल्क वृद्धिको अनुमति दिन महानगरले ढिलाइ गरेको संस्थागत विद्यालयहरुको साझा संस्था प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार कक्षा १२ सम्मको शुल्क बढाउन गत साउनदेखि नै प्रस्ताव गरेको र असोजबाट बल्ल कक्षा १० सम्मको शुल्क बढेको हो । महानगरले कक्षा ११ र १२ को शुल्क वृद्धिको अनुमति पत्र जारी गर्नुपर्ने उहाँको भनाई छ । शुल्क बढे पनि संस्थागत विद्यालयका शिक्षकहरुको तलब बढ्ने सुनिश्चितता अहिलेसम्म नभएकाले यस विषयमा आन्दोलित हुनुपर्ने बेला आइसकेको इस्टु चितवनका अध्यक्ष जनकराज घिमिरेले बताउँनुभयो ।