मितिः २०८१, २६ भाद्र बुधबार

वागमती प्रदेशको दोस्रो प्रदेश खेलकुद आउँदो चैतमा

वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद अब आउँदो चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।
हिजो विहीबार बसेको परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको हो । पहिलो संस्करणको तुलनामा समावेश खेल संख्या पनि बढाइएको बताइएको छ । दोस्रो संस्करणका लागि उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी छन् । पौडीको जिल्लागत प्रतिस्पर्धा नगराइ सिधै प्रतियोगितामा खुला प्रतिस्पर्धा गराइने भएको छ ।
अघिल्लो वर्ष फागुन २८ गतेदेखि १० दिनसम्म चलेको प्रतियोगितामा आठ खेल समावेश भएका थिए । त्यतिबेला खेलाइएको तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन र भलिबललाई यसपटक पनि निरन्तरता दिइएको छ ।
परिषदले गत असोज÷कात्तिकमा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदका पदक विजेता वागमती प्रदेशका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णयसमेत गरेको छ । वागमती प्रदेशले सरकारी ग्रासरुट कार्यक्रम राष्ट्रपति रनिङ शिल्डको केन्द्रीय प्रतियोगिता हुने १५ दिन अघि नै प्रदेश छनोट सम्पन्न गरिसक्ने निर्णय गरेको छ । राष्ट्रपति रानिङ शिल्डको स्थानीय र जिल्लास्तरीय प्रतियोगितामा सबै विद्यालयको सहभागिता गराउने पनि परिषदको निर्णय छ ।