मितिः २०८१, २६ भाद्र बुधबार

चितवनमा बर्षेनी बढ्दो बलात्कार र यौनदुव्र्यवहारका घटना ः बालिका बढी जोखिममा

दीपा चालिसे

पछिल्लो समय बालबालिकामाथि हुने जघन्य अपराधको घटना वृद्धि हुँदै गएको छ । अन्य आपराधिक घटनाको तुलनामा बालबालिकासँग सम्बन्धित घटनाहरुका क्रम बढ्दो छ । विशेष गरी अन्य उमेरसमुहका भन्दा बालिकाहरु नै बलात्कार र यौन दुव्र्यवहार जस्ता जघन्य अपराधको सिकार बन्न पुगेका छन् । देशको फितलो कानुनको कारण विद्यालयमा पढ्न पठाएकी छोरी होस् वा बजार, मेला, पर्वमा पठाएकी छोरी नै किन नहोस्– घर फर्किदा सकुशल फर्किन्छे कि लास बनेर फर्किन्छे कुनै टुंगो छैन । सरकारले न त अपराधीलाई कानुनको कठघरमा उभ्याउन सक्यो न त पिडितलाई न्याय दिलाउन नै । सरकारको वेवास्ता र फितलो कानुनले यता अपराधी खुलमखुल्ला हिँडेका छन् भने उता काख रित्तिएका अभिभावका आखा ओभानो हुन सकेका छैनन् । अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नाले बलात्कार र यौनदुव्र्यवहारको सिकार हुने बालिकाको संख्या डरलाग्दो नै छ । यसैक्रममा चितवनमा पनि गत वर्षको तुलनामा यो वर्ष बलात्कार र यौनजन्य अपराधको घटना बढ्दो छ । यो एक वर्षको तथ्याङ्कलाई केलाउने हो भने अन्य उमेरसमुहका महिलाहरु भन्दा बालिकाहरु नै बढी असुरक्षित देखिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सन् २०२२ को जघन्य अपराध तथ्याङ्क सार्वजनिक गर्दै अन्य उमेरसमूहभन्दा बालिकाहरु अपराधीको जोखिममा रहेको बताएको छ । इन्सेक चितवनले हिजो मंगलबार भरतपुरमा आयोजना गरेको वर्ष–२०२३ पूर्वसमीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कअनुसारसन् २०२२ यता यस अवधिसम्ममा ५१ जना बालिका बलात्कारपीडित बनेका छन् । पाँच जना बालिकामाथि बलात्कार प्रयास भएको छ भने २३ जनामाथि यौन दुव्र्यवहार भएको छ । गत वर्ष अर्थात् सन् २०२१ भरिमा जिल्लामा यो संख्या कम थियो । गत वर्ष २९ जना बालिका बलात्कारपीडित, तीन जना बलात्कार प्रयास र १८ जना यौन दुव्र्यवहारपीडित बनेका थिए ।
चितवनमा गत वर्ष जम्मा ९२ वटा जघन्य अपराधका घटना भएकोमा यसवर्ष त्यो संख्या निकै बढेको छ । इन्सेकका अनुसार यसवर्ष बढेर एक सय ६१ पुगेको छ । अपराधको घटना पहिले पनि उत्तिकै हुने गरेको थियो । तर, धेरै पिडितहरु समाजमा इज्जत जाने डरले खुलेर भन्न सक्दैन्थे । तर, अहिले मानिसहरु पीडित भए भने खुलेर आउने र न्यायका लागि पहल गर्ने भएकाले पनि अपराधका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । बालबालिकाहरु विद्यालय, घर र अन्य ठाउँमा पनि असुरक्षित देखिएकोमा अभिभावकहरु पनि सचेत हुनुपर्ने देखिएको छ ।
कार्यक्रममा सन् २०२२ मा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे जानकारी गराइएको थियो । इन्सेक चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार यस अवधिमा महिला बलात्कार घटना १५, महिला बलात्कार प्रयासका ११, बालिका बलात्कार घटना ५१, बालिका बलात्कार प्रयासका तीन, हत्या घटना सात, बाल यौन दुव्र्यवहारका २४ घटना, आत्महत्या दुरूत्साहनका नौ, मानव बेचबिखनका पाँच, बालक अपहरणका दुई गरी कुल एक सय ६१ घटना चितवनमा भएका छन् । सन् २०२१ मा यस्ता घटना संख्या जम्मा ९२ रहेको थियो ।