मितिः २०८१, १६ मंसिर आईतवार

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।
नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उहाँको भनाईमा २० वर्षअघि बङ्गलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ ।
भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताउनुभयो । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् ।
यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयन नभएको बताइएको छ ।
नेपालमा पाँचवटा उद्योगले उत्पादन गरेको औषधि आयातमा प्रतिबन्ध लगाएमा दुई वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने अधिकारीको भनाइ छ । अहिले बनाउन सक्ने क्षमताको हिसाबले ७० प्रतिशत र बजारको हिसाबले ४५ प्रतिशत आत्मनिर्भर भएको उहाँ बताउनुहुन्छ । आयात रोक्न सकियो भने अहिले नै ७० प्रतिशत आत्मनिर्भर हुने जनाइएको छ ।

विसं २०७४ मा ५० उद्योग मात्रै रहेकामा त्यसपछिका वर्ष एकाएक उद्योग थपिएका हुन् । थपिएका सबै उद्योगलाई एउटै औषधि उत्पादनको अनुमतिको सट्टा फरक–फरक औषधि उत्पादनको अनुमति दिनुपर्ने जनाइएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष डा जीनारायणबहादुर क्षेत्री आवश्यकभन्दा दोब्बर औषधि उत्पादन गर्न सकिने क्षमता उद्योगमा रहेको बताउनुहुन्छ । औषधि उद्योगमा मात्रै रु ५० अर्बभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उहाँले उद्योगको पक्षमा सरकार हुनुपर्ने बताउनुभयो । नेपालमा खपत हुने आधाभन्दा बढी औषधिमध्ये ९० प्रतिशत भारतीय आउने गर्दछ । दश प्रतिशत बङ्गलादेशलगायत देशबाट आयात गर्ने गरिएको छ ।
एक वर्षमा रु ३० देखि रु ४० अर्ब औषधिका लागि विदेशिने गरेको छ । नेपाली औषधि उद्योगले रु ३० अर्ब हाराहारीको व्यापार गर्ने गरेका छन् । उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीमा भन्सार छुट, सरल व्याजदरमा ऋण, विशिष्टकृत औषधिको उत्पादन गर्नेलाई प्रोत्साहन, अनुसन्धानमा सरकारी लगानी हुनु पर्ने क्षेत्रीको भनाइ छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने र सरकारले सहयोग गरेमा नेपाली उत्पादनले नेपाललाई मात्रै नभएर विदेशमा समेत पु¥याउन सकिने बताइएको छ ।
पच्चीस वर्ष पहिला क्षेत्रीको नेतृत्वमा गैँडाकोटमा स्थापना गरिएको टाइम्स फर्मासिटिकल्स प्रालिले विदेशमा औषधि निर्यात गर्न लागेको भन्दै उहाँले सहज वातावरण बनेमा सबै उद्योगले निर्यात गर्नसक्ने बताउनुभयो । अहिलेसम्म नेपालमा खोपबाहेकका औषधि उत्पादन हुँदै आएका छन् । उत्पादनमा कठिन हुने औषधिसमेत यही उत्पादन गरेर देशलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने छ ।
मुटु, क्यान्सरलगायतका रोगका औषधिसमेत यही उत्पादन हुन थालेको छ । पछिल्लो समय ठूलो लगानीमा खुलेका उद्योग आयात नरोकिए धरासायी हुनेछन् । सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा उद्योग धरासायी हुने अवस्थामा पुगेका छन् । चर्काे ब्याजदर र विदेशी कम्पनीसँग अस्वस्थ प्रतिस्पर्धाको मारमा नेपाली उद्योग रहेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.